पर्वतको पाङस्थित सिँधाली आधारभुत विद्यालयमा नयाँ भवन, सामुदायिक विद्यालयमा अभिभावको चासो कम ः जोशी - News site from Nepal

रोशन तिवारी
पर्वत– पर्वतको कुश्मा नगरपालिका १ पाङमा रहेको सिँधाली आधारभूत विद्यालयमा निर्मित २ कोठे ट्रष्ट भवनको आज उद्घाटन गरिएको छ । विद्यालय भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले भूकम्प पश्चात भत्किएका सबै जसो विद्यालयहरु पूननिर्माण भैसकेका र कतिपय अन्तिम चरणमा रहेको बताउँदै अव ति विद्यालयलाई गुणस्तरीय शिक्षामा ध्यान दिन सझुाव दिनुभयो । नगरप्रमुख जोशीले अव भवनको चिन्ता नभएपनि सामूदायिक विद्यालयमा अभिभावकहरुले चासो नहुनु दुखद पक्ष रहेको औल्याउनुभयो । अभिभावकहरुले विद्यालयमा के भैरहेको छ, शिक्षकले कसरी पढाईरहेका छन्, आफ्ना छोराछोरीको कस्तो नतिजा आईरहेको छ भनेर चासो नदिँदा शिक्षकले चाहेर पनि गुणस्तरिय शिक्षा हासिल हुन नसकेको जोशीले बताउनुभयो ।
कुश्मा नगरपालिकाले कुर्नै पनि बिद्यालयमा भौतिक पूर्वाधारमा कमी हुन नदिने बताउँदै नगरप्रमुख जोशीले गुणस्तरीय नतिजा ल्याउने कुरामा भने समूदाय, शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुभयो । सिँधाली आधारभूत विद्यालयको प्रागंण खुल्ला रहेको छ । भीरको टुप्पोमा रहेको यो बिद्यालयमा पर्खाल नहुँदा विद्यार्थीहरुको सुरक्षामा चुनौती देखिएको छ । नगरप्रमुख जोशीले विद्यालयको प्रांगणमा पर्खाल बनाउन शुरु गर्न निर्देशन दिँदै आवश्यक बजेट नगरपालिकाले दिने आश्वसन दिनुभयो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता काफ्ले लामिछानेले पाङमा रहेका सबैजसो बिद्यालयमा नगरपालिकाको पहलमा विभिन्न निकायले भवन बनाउन सहयोग गरेको भन्दै आगामी दिनमा सहयोग निरन्तर गरिरहने बताउनुभयो । भयरहित वातावरणमा पढ्ने र पढाउने वातावरण बनाउने नगरपालिकाको उदेश्य रहेको भन्दै लामिछानेले आवश्यक सहयोगका लागि नगरपालिकाले स्रोतको खोजी गर्ने प्रतिबद्धता जनाउनुभयो । अहिले धेरैजसो बजेट वडामै आउने गरेको जानकारी दिँदै वडामा पनि पहल गरेर विद्यालयको स्तरउन्नती गर्न उहाँले सुझाव दिनुभयो ।
वडाध्यक्ष देबेन्द्रप्रसाद सुबेदीले पाङमा रहेको सबैजसो बिद्यालयमा भौतिक संरचनामा बिगतमा ठूलो समस्या रहेको भएपनि अहिले बिस्तारै समस्या समाधान भएपनि प्रर्याप्त नरहेको बताउनुभयो । नुवार सुबेदी थर माविमा ४ कोठे र धैरनी माविमा गत वर्ष ४ कोठे भवन बनेको अवगत गराउँदै वडाध्यक्ष सुबेदीले अवको चुनौती भने गुणस्तरीय शिक्षाकै रहेको दाबी गर्नुभएको छ ।
पाङ कुश्मा नगरपालिकाकै सबैभन्दा ठूलो वडा रहेपनि न्यून बजेट आएपनि आवश्यकता हेरेर वडाले विकासका काम गर्दै आएको सुबेदीले बताउनुभयो ।
जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले पर्वत जिल्लामा भूकम्प पश्चात पुननिर्माणको दोस्रो चरणमा सम्झौता भएका विद्यालय मध्ये यस विद्यालयले सबैभन्दा पहिले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर क्षेत्रीको अध्यक्षतामा भएको हो । उक्त विद्यालयको दुई कोठे भवन पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाको २३ लाख ५० हजारमा निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक कमल पौडेलले जानकारी दिनुभयो ।
गतवर्षको असोजबाट काम शुरु गरि १६ महिनामा काम सम्पन्न गरिएको पौडेलले बताउनुभयो । २ कोठे भवन भूकम्प प्रतिरोधी र यूपिभिसी छानोयुक्त रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!