पर्वत- पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउराली स्थित भकिम्लेमा रहेको बुद्ध आधारभुत बिधालयमा दुई कोठे भवनको शिलन्यास गरिएको छ । भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईमार्फत करिब २३ लाख रुपैयाको आर्थिक सहयोगमा निर्माण हुन लागेको २ कोठे भबनको महाशिला गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का वडा अध्यक्ष जीवन विक्रम उच्चैले शिलन्यास गर्नुभएको हो ।
सो अवसरमा बाल्दै प्रवक्ता उच्चैले गुणस्तरीय शिक्षा प्रदानका लागि भौतिक पूर्वाधारको पनि उत्तिकै भूमिका हुने बताउँदै वडा नं. ५ का विद्यालयहरु क्रमश स्तरबृद्धि हुँदै गईरहेको बताउनुभयो । उहाँले उक्त विद्यालयको स्थापना कालमा चौतारी र गुन्द्रीमा बसेर पढेको स्मरण गर्दै आफुले औपचारिक शिक्षाको आधार तय गरेको विद्यालयको भवन शिलन्यास गर्न पाउँदा खुसीको महसुस भएको बताउनुभयो । उहाँले भवन मात्र बनेर नहुने भन्दै शिक्षाको गुणस्तरमा समेत सक्रिय भएर लाग्न शिक्षक तथा अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता टिकु मल्ल ठकुरी, विद्यालयको संस्थापक अध्यक्ष चन्द्रबहादुर उच्चै लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सरस्वती कुमारी उच्चै र संचालन शिक्षक रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।
उक्त विद्यालय २०४५ सालमा स्थापना भएको हो ।






