प्रचण्ड भन्छन्– व्यक्तिगत रुपमा मलाई अब कुनै डर छैन - News site from Nepal
प्रचण्ड भन्छन्– व्यक्तिगत रुपमा मलाई अब कुनै डर छैन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको बताएका छन् ।
आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ ।
रिपोर्टर्स क्लब नेपाल वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्तिप्रक्रियासँग जोडेर कतिपय मानिसले मलाई प्रचण्ड डराएको जस्तो ठान्छन्, तर मलाई अब कुनै डर छैन । शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको, देश अब समृद्धितिर जाँदैछ, व्यक्तिगत रुपमा अब मलाई न त कुनै डर छ, न त कुनै लोभ छ ।’
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका बेला आफूविरुद्ध उजुरी हाल्ने काम भएकोभन्दै प्रचण्डले त्यसप्रति असन्तुष्टि जनाए ।
‘विदेशमा रहेका केही नेपालीले शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा अथ्र्याउने, त्यसमा सहभागी नेतालाई अपराधीको रुपमा अथ्र्याउने काम भएको छ,’ प्रचण्डले भने, ‘भर्खरै अमेरिका जाँदा मैले त्यो अनुभव गएर आए । वाशिङ्टन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेस निकट कमिटीले निर्णय गरेको भनेर बाहिर आयो,’ प्रचण्डले भने, ‘हामी शान्तिप्रक्रियाको समर्थन गछौं, राजनीतिक स्थायित्वको समर्थन गर्छौं भने एउटा नेपालीले दुनियाका अगाडि त्यो प्रक्रियामा सहभागी नेतालाई हत्यारो भन्नु कति उपयुक्त हो ?’
शान्ति प्रक्रियाका सन्दर्भमा देशभित्रै केही मत–मतान्तर हुनु स्वभाविक भएपनि देश बाहिर रहेका नेपालीले शान्ति प्रक्रियालाई गलत सिद्ध गर्नेगरी विभिन्न नेताहरुविरुद्ध उजुरी दिने काम गरेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!