अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री - News site from Nepal
अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरमा रहेकाे शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले देशमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ । 

प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।” मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुग्नुभएको हो । यही अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गरेर शहीदको सपना पूरा गर्ने समय आएको बताउनुभयो । कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो ।

दिवसका अवसरमा बुधबार काठमाडौँ महानगरपालिकाले प्रभातफेरिको आयोजना गरेको थियो । गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति र नागरिकको सहभागितामा रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि लैनचौर पुगेर समापन भएको थियो । 

जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । 

उहाँहरुको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ । यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ । प्रदेश नं ३ सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!