पर्वतको लुंखुदेउरालीमा रहेको एशियाकै ठुलो महाशिलाको विकास यसरी गरिँदै , ७५ लाख रुपैया खर्च गरिँदै - News site from Nepal

पर्वत–पर्वत जिल्लाको महाशिला गाउँपालिका स्थित लुंखुदेउरालीमा रहेको ऐशियाकै ठुलो महाशिला (मेहलढुङ्गा) पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्धेश्यले पूर्वाधार निर्माणको काम शुरु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख रुपैया र महाशीला गाउँपालिकाको रु २५ लाख रुपैया गरी रु ७५ लाखको लागतमा विभिन्न संरचना निर्माण गर्न थालिएको हो । प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको महाशीलाको विकासका लागि गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखिनै बजेट बिनीयोजन गरेर संरक्षण र प्रवद्र्धनको काम गर्दै आएका थिए । पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपुर्ण मानिएको महाशीलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचार प्रसार हुन सकेको थिएन । हाल उक्त रकमले भगवान शिवको मन्दिर, १० दशमलब ८ फिटको ढुंठाको मुर्ति र १ सय ८ फिट अग्लो महाशीलालाई कुँदेरै भगवान शिवको मुर्ति तथा शौचालय निर्माण लगायतका पूर्वाधार निर्माणको काम भैरहेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षभित्रै सवै संरचना निर्माण गर्नेगरी अहिले काम धमाधम भैरहेको छ । महाशीलामा निर्माण हुन लागेको भगवान शिवको मन्दिरको आईतवार शिलन्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले मन्दिरको शिलन्यास गरेका हुन् । सो अवसरमा बोल्दै महाशीला गाउँपालिकाको अस्तित्वसँग गाँसिएको यस क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सक्रिय भएर लाग्ने बताए । यस शीलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्न सकेमा महाशीलाको आर्थिक विकासले फड्को मार्ने उनको भनाई छ ।

कार्यक्रममा प्रवक्ता उच्चैले महाशीलालाई जिल्लाकै मुख्य गन्तव्यको रुपमा विकास गर्नेगरी काम भैरहेको बताए । उनले अहिले बन्दै गरेका संरचनाहरुको निर्माण पश्चात हिन्दुहरुको महत्वपुर्ण गन्तव्य बन्ने बताउँदै यसको विकासका लागि गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको बताए ।
एक दशक पहिले सम्म महासिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वहरुमा मेला लाग्ने गर्दथ्यो तर पछिल्लो समयमा वुढापाकाको मृत्यु हुँदै जानु र युवाहरु पलायन हुनुले ढुङ्गाको प्रचार प्रसार हुन सकेको छैन् । सदरमुकाम कुश्मावजारवाट करिव ४० किलोमीटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठुलो ढुङ्गालाई स्थानीयस्तरमा मेहलढुङ्गा भनिन्छ । विश्वकै ठुलो महासिला भएकाले यसलाई अवलोकन गर्न जिल्लामा भित्रिने आन्तरीक तगा वाह्य पर्यटकहरु त्यहाँ जाने गरेका छन् । लुंखुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटकहरु आउने गर्दछन् । स्थानीयबासीहरु भन्छन महासिला (ढुङ्गा) एकपटक हिडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्छ रे । एकपटक घुम्दा १० मिनेट भन्दा वढि समय लाग्ने स्थानीवासीहरु वताउँछन् ।
बाबुबाजेका पालामा पुजारीहरु वसेर पुजापाठ गर्ने गरेपनि अहिले यस्तो प्रचलन हटेको स्थानीयको भनाई छ । यहाँ बालाचतुर्दशी, शिवरात्री, रामनवमी, अक्षयतृतिया लगायतका चाडपर्वहरुमा मेला लाग्ने स्थानीय सरस्वती अधिकारीले बताईन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!