पर्वतमा जोडियो पहिलो ‘सिस्मोमिटर’ - News site from Nepal
पर्वतमा जोडियो पहिलो ‘सिस्मोमिटर’

पर्वत : पर्वत जिल्लामा नै पहिलो पटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ। सदरमुकाम कुस्मामा रहेको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो। 
स्वीट्जरल्याण्मा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ ओटा विद्यालयहरूमा भूकम्प मापन गर्ने यन्त्र जडान गर्ने अभियान अन्तर्गत उक्त यन्त्र जडान गरिएको हो।
यो यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्निच्यूड भन्दा माथिका सबै भूकम्पहरूको मापन तथा रेकर्ड रहनेछ।  लोजान युनिभर्सिटीले विभिन्न देशहरूको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ओटा ‘सिस्मोमिटर’ हरूको जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययनसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहेका छन्।
विद्यालयमा ‘सिस्मोमिटर’ जोडेमा विशेषगरी विद्यार्थीले भूकम्पबारे बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमा नै यन्त्र जडान गरिएको उनले बताए। उनका अनुसार उक्त यन्त्रले १ १ म्याग्निच्यूड भन्दा माथिका सबै भूकम्प ४० किलोमिटर टाढाबाटै रेकर्ड गर्नेछ।  इन्टरनेट र विद्युत्को निरन्तर आपूर्तिमा काम गर्ने यन्त्रको मोबाइल एप्स डाउनलोड गरेर पर्वतवासीहरूले पनि जहाँ कतै गएका भूकम्पहरूको बारेमा थाहा पाउन सक्ने भएका छन्।
  नेपाली वैज्ञानिक सुवेदीका अनुसार एक ठाउँमा यो ‘सिस्मोमिटर’ जडान गर्न कम्तीमा पनि एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ। यस अनुसार स्वीट्जरको लोजान विश्वविद्यालयले नेपालका २३ ओटा विद्यालयमा कम्तीमा २३ लाख मूल्यका ‘सिस्मोमिटर’ जडान गर्न लागेको छ। पर्वतमा जडान गरिएको ‘सिस्मोमिटर’ लोजान विश्वविद्यालय मार्फत जोडिएकामध्ये सातौँ ‘सिस्मोमिटर’ हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!