
पर्वत–नेपाली सेनाले पर्वतको एक विकट गाउँमा आयोजना गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
नेपाली सेनाको केवलजंग गुल्म पर्वतले जिल्लाको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको घुरुङसेरामा संचालन गरेको शिविरमा एक सय ९० जनाको विभिन्न रोगको परिक्षण गरिएको थियो । शिविरमा उपचारका लागि आएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा नेपाली सेनाको २३ नम्वर वाहिनी बागलुङका स्वास्थ्य कर्मिहरुले बिरामीहरुको परिक्षण गरेका थिए भने स्थानीय स्वास्थ्य कर्मिहरुले पनि सहजीकरण गरेका थिए ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नेपाली सेना केवलजंग गुल्म पर्वतका गुल्मपती शिव केसी लगायतको उपस्थिति रहेको थियो । विकट गाउँमा पहिलोपटक निशुल्क स्वास्थ्य शिविर संचालन भएपछि देउराली, घुरुङसेरा, क्याङ, बाजुङ लगायतका क्षेत्रका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् ।
शिविरमा विशेषगरी आँखा, नाक, कान, रुघाखोकी, दम ग्याष्ट्रीक, र स्त्री रोग सम्वन्धिका बिरामीहरुको संख्या बढि रहेको मोदी गाउँपालिकाले जनाएको छ ।