पर्वत–असिनापानीका कारण पर्वतमा करोडौको अन्नवाली नष्ट भएको छ । बिहीवार दिउँसो आएको हावाहुरीसँगैको असिना पानीले जिल्लाका अधिकांस भागका कृषक प्रभावित बनेका छन् ।
पर्वतको कुश्मा नगरपालिकाको वडा नं. १४ आर्थर डाँडाखर्क, १३, खौलालाकुरी, १२ ठुलीपोखरी र ११ पकुवा तथा मोदी गाउँपालिकाको वडा नं. ७ राम्जा, ८ चित्रे र ६ तिलाहारमा बाक्लो असिना परेको छ ।
त्यसैगरी सुन्तलाको पकेट क्षेत्र देउपुर, बाजुङ, भुकताङले, देउराली, तथा उत्तरी पर्वतको धाईरिङ्ग, शालिजा लगायतका स्थानमा बाक्लो असिना परेको हो । झण्ढै ५ सय ग्राम सम्मको असिना परेको आर्थर डाँडाखर्कका कृषक होमनाथ रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नवालीका साथै विद्यालय र घरका छानामा समेत असर पुगेको छ ।
विशेषगरी खेतवारीमा लगाईएको मकैवाली पुर्ण रुपमा नोक्सान भएको छ भने आलु लगायत तरकारी खेती र भर्खरै फल लागेको सुन्तला पुर्ण रुपमा नष्ट भएको कृषकहरुले गुनासो गरेका छन् । झण्डै एक घण्टासम्म लगातार परेको असिनाले बालीनालीमा पुर्ण रुपमा क्षति पु¥याएको राम्जाका रमेश केसीले जानकारी दिनुभयो ।

पर्वतको पकुवामा १८ रोपनी क्षेत्रफलमा लगाईएको वर्खे आलु समेत पुर्ण रुपमा नष्ट गरिदिएको छ । पकुवामा रहेको सामुदायिक कृषि फर्ममा व्यावसायिक रुपमा लगाइएको आलु पुर्ण रुपमा नष्ट गरिदिएको संचालक जगन्नाथ पौडेलले जानकारी दिनुभयो । यता कृषि ज्ञान केन्द्र पर्वतले जिल्लाका धेरैजसो भागमा बिहीवार दिउँसो असिनापानी परेको जनाएको छ । असिनापानीले व्यावसायिक रुपमा सुन्तला, तरकारी र मकै खेती लगाएका कृषकहरुलाई ठुलो नोक्सानी परेको बताए । असिनाले उत्पादनमा ४० प्रतिशत भन्दा बढि गिराबट आउने अनुमान गरिएको भएपनि क्षतिको यकिन विवरण संकलनको काम भैरहेको केन्द्र प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।
यस वर्ष हिउँदमा समेत लगातार वर्षा हुँदा अन्नवालीको उत्पादन राम्रो हुने आँकलन गरिएपनि कहिले हिउँ, कहिले असिना र हाबाहुरीले अन्नवालीका क्षति पुगेको ज्ञान केन्द्रले जनाएको छ । यस अघि केहि दिन पहिले परेको असिनाले पनि खेतमा लगाएको मकै र फलफुल खेतीमा असर पु¥याएको थियो भने हाबाले जिल्लाका झण्डै एक दर्जन विद्यालय भत्किएका थिए ।






