कुस्मा–बलेवा यान्त्रिकपुल मर्मतका लागि ठप्प, यात्रुलाई सास्ती - News site from Nepal

पर्वत– कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गएको शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो ।
पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकाल सम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणहरुले सास्ती पाएका छन् । पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका १४ बलेवा सम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारणहरु आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा १÷१ वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको श्रेष्ठले बताउनुभयो ।
तर यसपटक २५ महिना पछि मात्रै लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउन भन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका सञ्चालक केदारनाथ शर्माले जानकारी दिनुभयो । पुल मर्मत गर्न कम्तिमा एकहप्ता लाग्ने अनुमान छ । भारतबाट सोमवारसम्ममा प्राबिधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ ।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणहरु एक घण्टाको घुमाउरो बाटो यात्रा गरि बडागाउँ– कैया झोलुङ्गेपुलको प्रयोग गरि आवातजावत गर्न बाध्य भएका छन् । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने गरेका छन् ।
पर्वतमा अहिले मगर महोत्सव र बागलुङको बलेवामा बलेवा महोत्सव चलिरहेको छ । यात्रुहरुको चाप बढिरहेका बेला पुल मर्मतका लागि बन्द भएपछि पुललाई एक हप्तामा १० लाख रुपैयाँ घाटा लाग्ने अनुमान गरिएको छ ।
यो पुल कुश्मा–बलेवा यान्त्रिक पुल २०६८ सालमा करिब चार करोडको लागतमा बनाईएको हो । एक डब्बामा एक पटकमा आठ जना गरी दुईमा १६ जना मानिस आवातजावत गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!