पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १२ मा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थीले स्थापना गरेको जनता सुदर्शन मा. वि. विद्यार्थी कल्याण स्वर्ण छात्रवृत्ति अक्षयकोषले अक्षयकोष छात्रवृत्ति वितरण गरेको हो।
आज विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट अंकका साथ उर्तीर्ण भएका दलित छात्र, छात्रालाई जनही क्रमशः एक हजार, १५ सय, दुई हजार रुपैंयाँ तथा कक्षा १ देखि १२ सम्मका उच्चतम अंक ल्याउने प्रत्यक कक्षाका एक जना छात्र र एक जना छात्रा लाई क्रमशः,१५ सय ,दुई हजार, तीन हजारका दरले जेहन्दार छात्रवृत्ति वितरण गरिएको थियोे।
त्यसैगरी, विद्यालयका अति विपन्न २० जना विद्यार्थीलाई शैक्षिक सहायता स्वरुप रु एक हजारसमेत प्रदान गरिएको थियोे। यस्तै अक्षयकोषबाट शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोगको लागि रु ३६ हजार बरावरको मिदाज ईलर्निङ सफ्टवेयर वार्ड १२ का सबै विद्यालयमा हस्तान्तरण गरिएको छ।
कूल ८लाख राशिको उक्त अक्षयकोषको प्राप्त व्याजबाट प्राप्त रकमको २०५ रकम सावाँमा थप्दै जाने विधान अनुसार हाल अक्षयकोष मा रु आठ लाख ४६ हजार ९सय रुपैँयां पुगेको छ। उक्त समारोहमा अक्षयकोषका उपाध्यक्ष झलक रिमालले रु १ लाख बरावरको न्यानो कपडा स्विटर वडाका सबै विद्यालयका आधारभुत तहका २५० जना विद्यार्थीलाई वितरण गरेका छन्।
वडा अध्यक्ष पौडेलले न्यानो कपडा वितरण हुन् वाँकी रहेका सबै विद्यार्थीलाई नगरपालिकाले वितरण गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा अक्षयकोषका अध्यक्ष,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप सचिव कार्यक्रमका प्रमूख अतिथिसमेत रहेका राम प्रसाद आचार्यले शैक्षिक गुणस्तर बिना समाजको रुपान्तरण सम्भव नभएको बताए।
पौडेलले पूर्वविद्यार्थीले आफ्नो एक दिनको तलब वार्षिक रुपमा विद्यालयलाई दान गर्न सके विद्यालयको शैक्षिक विकासमा ठूलो योगदान हुनेभन्दै अक्षयकोषमा नियमित दान गर्न सबैलाई आग्रह गरे। कार्यक्रम वडा नम्बर १२ का वडा अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको हो।