
पर्वत– पर्वतको एक विकट गाउँमा संचालित क्याम्पसमा सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको हो । नवनर्मित भवनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको छ । झण्डै रु. डेढ करोडको लागतमा निर्माण सम्पन्न भएको ८ कोठे भवनको अध्यक्ष तिमिल्सीनाले शनिवार उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको भन्दै आर्थिक रुपमा सवल भएमा संविधानमा उल्लेखित सबै अधिकार प्राप्त गर्न सहज हुने बताउनुभयो । देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि तीनै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक समृद्धि भएमा, विकसित भएमा मात्र संविधानमा मात्र संविधानको सफल कार्यान्वयन भएको देखिने बताउँद्यै त्यसका लागि हामी सवैले आ–आफ्नो ठाउँवाट योगदान गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सीनाले देशलाई समृद्ध बनाउन कर संकलन बढाउनुपर्ने, भष्ट्रचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने बताउनुभयो ।
फरक प्रसंगमा उहाँले आगामी चार वर्ष भित्र पर्वतका सवै वडा कार्यालयसम्म कालोपत्रे सडकको पहुँच पुग्ने र प्रत्येक घरमा खानेपानी धाराको व्यवस्था हुने बताउनुभयो । उहाँले पोखरादेखि सिँधै पर्वतको शालिग्राम शिला जोड्ने सडक निर्माण सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफु तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदादेखिनै जिल्लाको समग्र विकासमा सक्रिय रहेको बताउँदै पर्वतवासीका चाहाना र आवश्यकता पुरा गर्न हरसम्भव लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पस भवन उद्घाटन सँगै नवौँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै तिमिल्सिनाले शिक्षा व्यवसायिक र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा संविधानसभाका सदस्य गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेकपाका केन्द्रीय सदस्य गुप्तवहादुर हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोबिन्द पहाडी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वहाकी वहुमुखी क्याम्पसका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । क्याम्पसको वर्तमान अवस्था र भावी कार्यक्रमको बारेमा क्याम्पस प्रमुख एकनारायण भट्टराइले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृति प्रस्तुतीहरु पनि राखिएको थियो ।