पर्वतको कोटीहोममा आएका काँग्रेस नेता भण्डारी भन्छन्–‘नेपाल हिन्दु राष्ट्र हुनुको विकल्प छैन’ - News site from Nepal

पर्वत–हिन्दुवादी नेताका रूपमा चिनिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले नेपाल हिन्दु राष्ट्र नभएमा विदेशी शक्तिहरूले चलखेल गर्ने बताएका छन ।
नेपाललाई जोगाउनका लागि देशलाई हिन्दु राष्ट्र भनी घोषणा गर्नुपर्ने उनको दाबी छ । पर्वत सदरमुकाम कुस्मामा चलिरहेको कोटीहोम तथा तुलादान महायज्ञको बुधवारको आठौँ दिनको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अधिकांश नागरिकले हिन्दु धर्म मान्ने भए पनि देशलाई हिन्दु राष्ट्र भनी घोषणा गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता भण्डारीले भने, ‘सदियौँदेखि रही आएको हिन्दु धर्मलाई मेट्न विदेशीहरूको चलखेल पनि उत्तिकै छ । देश र धर्म जोगाउन नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ ।’ नेपालमा घुम्न आउने पर्यटकहरूमध्ये धेरैजसो धार्मिक रूपमा आउने भएकाले पनि नेपालको समृद्धिको एउटा आधार धार्मिक पर्यटकहरू बन्ने उनको तर्क छ ।
हिन्दु धर्मका विरुद्धमा सदियौँदेखि ठुलो षडयन्त्र हुँदै आइरहेको भन्दै उनले देशको पहिचान र अस्तित्व हिन्दु धर्मबाट मात्र हुने भएकोले यसमा सबै दलहरू सचेत बन्नुपर्ने धारणा राखे । राजनीतिक रूपमा विपरीत ध्रुवमा फर्किएका दलहरू पनि यो मुद्दाका लागि नरम भएर सबै सकारात्मक बन्नुपर्ने आवश्यकता रहेको पूर्व मन्त्री भण्डारीले बताए । अर्को प्रसङ्गमा बोल्दै उनले देशको समृद्धिका लागि नेपाली काँग्रेसले कृषि, पर्यटन र जलश्रोतलाई आधार मानेको उल्लेख गरेका छन ।

यसैबिच, १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्यका साथ ११ दिनसम्म चल्ने महायज्ञको आठौँ दिन बुधवारसम्म २ करोड ३५ लाख रुपैयाँ नगद उठेको छ भने ५० लाखको जग्गा दान भएको छ । महायज्ञ प्रचारप्रसार समितिका संयोजक मोहन आचार्यका अनुसार महायज्ञमा कोटीहोम र तुलादान गर्नेहरूको उल्लेख्य सहभागिता रहेको छ । पर्वतको पाङमा हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म भएको हो भनी चिनाउन, शिव र पार्वतीको विश्वकै अग्लो मूर्ती निर्माण गर्न, सिसमहल निर्माण तथा ज्योतिर्लिङ्ग स्थापना गर्ने उद्देश्यले महायज्ञ लगाइएको हो । महायज्ञ आयोजक मूल समितिका संयोजक पृथ्वीनारायण शर्माका अनुसार महायज्ञमा १ करोड होमन गरिनुका साथै र ५१ सय जनाले तुला दान गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!