
पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका–७ राम्जाठाँटीमा अवस्थित पशुपति माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा पढाउने भएको छ । विद्यालयले स्वर्ण जयन्ती लगत्तै प्राविधिक शिक्षा पढाउने भएको हो ।
स्वर्ण जयन्तीपछि विद्यालयले प्राविधिक शिक्षाअन्तर्गत पर्यटन विषय पढाउने भएको हो। विद्यालयले राम्जा र आसपासका क्षेत्रमा पर्यटनको अथाह सम्भावना रहेको तथ्यलाई मध्यनजर गर्दै प्राविधिक शिक्षामा पर्यटन विषय पढाउने निर्णय गरेको हो । त्यसका लागि स्वर्ण जयन्तीका अवसरमा संकलित रकमबाट अक्षयकोष खडा गर्ने तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतमले जानकारी दिए।
गौतमका अनुसार पञ्चासे र आसपासको क्षेत्र सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको र पर्यटन शिक्षाले रोजगारी एवं स्वरोजगारको दायरा फराकिलो पार्ने भएकाले पर्यटन विषय रोजिएको हो। विद्यालयले सञ्चालन गर्ने पर्यटन शिक्षाले राम्जा क्षेत्रको शैक्षिक एवं आर्थिक क्षेत्रमा गुणात्मक परिवर्तन आउने स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष डण्डपाणि तिमिल्सिनाले बताए।विद्यालयले यही पुस २४ देखि माघ २ गतेसम्म स्वर्ण जयन्ती मनाउने भएको छ। स्वर्ण जयन्ती समारोहका लागि यसअघि नै मूल समिति र विभिन्न उपसमितिहरु गठन भइसकेका छन्।
स्वर्ण जयन्तीअन्तर्गत जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला हिंसाविरुद्ध लोकगीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बृहत पुनर्मिलन कार्यक्रम, पुरस्कार बितरण तथा सम्मान लगायतका कार्यक्रमहरु आयोजना गरिएका छन्। माघ १ गते विद्यालयले बृहत पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा विद्यालयका संस्थापकहरु, विभिन्न समयका व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका अध्यापन गरेका सबै शिक्षक–शिक्षिका, सम्पूर्ण भूतपूर्व विद्यार्थी र तिनका अभिभावकहरुलाई निमन्त्रण गरिएको मूल समारोह समितिका सचिव रमेश केसीले जानकारी दिए। विद्यालयले स्वर्ण जयन्तीको तयारीका लागि पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा र्पुयाएको छ। विद्यालयको मूल गेट, पानीको ट्याङ्की व्यवस्थापन, संस्थापक धनबर गुरुङको शालिक, मन्दिर र सत्तल स्थानान्तरण लगायतका सम्पूर्ण कामहरु सकिएका छन्। बाँकी रहेका पूर्वाधारहरु निर्माणको काम पनि यसै साताभित्र सकिने अध्यक्ष गौतमले बताए।
स्वर्ण जयन्ती समारोहको तयारीका लागि शनिबार भूपू विद्यार्थी मञ्चले काठमाडौंमा एक भेलाको आयोजना र्गयो। उक्त भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पशुपति माविको गौरवमय इतिहासलाई कायम राख्न प्राविधिक शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। उनले स्वर्ण जयन्तीलाई भव्य रुपमा सम्पन्न गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भूपू विद्यार्थीहरुलाई समारोहमा आमन्त्रण गर्न समितिलाई सुझाव दिए।
विद्यालयले स्वर्ण जयन्तीका सन्दर्भमा विद्यालयको स्थापना र विकासमा महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरुलाई विशेष सम्मान गर्ने भएको छ। विद्यालयका संस्थापक, चन्दादाता, जग्गादाता, पशुपति माध्यमिक विद्यालयबाट उत्तीर्ण भई देश–विदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई विद्यालयले सम्मान गर्ने भएको हो। सम्मानको मापदण्ड निर्धारणका लागि एक समितिसमेत गठन भइसकेको छ। स्वर्ण जयन्तीपछि पर्यटन शिक्षाको कक्षा सञ्चालन हुने भएकाले मन फुकाएर सहयोग गर्न विद्यालयले सबैमा अपील गरेको छ।
विद्यालयद्वारा जारी अपीलमा भनिएको छ, ‘प्राविधिक शिक्षाको स्थापना एवं विकास र स्वर्ण जयन्ती समारोहका लागि साधन स्रोतको आवश्यकता पर्दछ। तसर्थ, विद्यालयको इतिहास र गौरवलाई कायम राख्दै गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनका लागि यहाँहरु सबैको सकारात्मक सहयोगका लागि हार्दिक अपील गर्दछौं।’}
विद्यालयले स्वर्ण जयन्तीमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेको छ। स्वर्ण जयन्ती समापनका दिन सबै चन्दादाताहरुलाई सम्मान गरिने छ। साथै निश्चित मापदण्डभित्र पर्ने चन्दादाताको नाम शिलालेख र स्मारिकामा समेत प्रकाशित गर्ने तयारी गरिएको स्वर्ण जयन्ती समारोहका कोषाध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिए।
शनिबार आयोजित भेलामा भूपू विद्यार्थी मञ्चका अध्यक्ष विजय गुरुङले स्वर्ण जयन्ती पटकपटक नआउने भएकाले मन फुकाएर सहयोग गर्न सबै भूपू विद्यार्थीहरुलाई अपील गरे। अध्यक्ष गुरुङले भने, ‘पशुपति माविमा पढेका विद्यार्थीका लागि यो ऐतिहासिक अवसर हो। हामीले चाहेर पनि सधैं विद्यालयलाई सहयोग गर्ने अवसर पाउँदैनौं। यो अवसर नगुमाउँ। हामीले गरेको सहयोग पूर्ण रुपमा सदुपयोग हुनेछ।’