पर्वतको कुश्मा आईपुगे खोटाङका साईकल यात्री कर्ण श्रेष्ठ - News site from Nepal

पर्वत ः ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं, धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ नेपाल ७७ जिल्लाको भ्रमण थाल्नुभउका खोटाङका एक साइकल यात्री पर्वत सदरमुकाम कुश्माबजार आइपुग्नु भएको छ ।
साइकलयात्री कर्ण श्रेष्ठ ४१ औ जिल्लाको रुपमा पर्वत आईपुग्नु भएको हो । ०७५ साल चैत ३ गते खोटाङ जिल्लाबाट भ्रमण शुरु गरी सोमवार पर्वत आइपुग्नु भएका साइकल यात्री श्रेष्ठले पर्वतका विभिन्न संघ संस्थासँग भेटघाट गर्नुभएको छ ।
उहाँले उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा र जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्नुभएको थियो । भेटमा साइकल यात्री श्रेष्ठले नेपाल भ्रमणका क्रममा ४१ जिल्ला घुमिसकेको र अब ३६ जिल्ला बाँकी रहेको बताउनुभएको छ ।
देशमा देशलाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने, समाजलाई रुपान्तरण गर्न घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने, नेपालमा खेर गइरहेको जडिबुटी प्रशोधन गर्नुपर्ने, कृषि प्रधान देश भएर पनि खाद्यान्न निर्यात भन्दा आयात बढि भएकोले आयातलाई प्रतिस्थापन गर्नुपर्ने, तराईका उर्वर भुमिलाई मरुभुमि हुनबाट जोगाउन औद्योगीकरण गर्नुपर्ने लगायतका सुझाव दिँदै अभियानको रुपमा नेपाल भ्रमण शुरु गरेको साइकल यात्री कर्ण श्रेष्ठले बताउनुभयो ।
खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं. ४ खाल्ले निवासी ३४ वर्षीय श्रेष्ठ अहिले सन्देश प्रवाहका लागि नेपाल भ्रमणमा हिडेको बताउनुभयो । उहाँले नेपाल भ्रमण सकेपछि विश्व भ्रमणमा निस्किने बताउनुभयो ।
साइकल यात्री श्रेष्ठले स्थानीय श्रोत र साधनको उपयोग भएमा मात्रै सुखी नेपाली र समृद्ध नेपाल बन्ने धारणा राख्नुभएको थियो । आफूले एउटा साइकल चढेर भ्रष्टाचार न्यूनीकरण नहुने तर आफ्नो सन्देश ७७ जिल्लामा फैलाउने उहाँले बताउनुभयो । उहाँका अनुसार शिक्षा नीति र पाठ्यक्रम परिवर्तन आवश्यक र नेपाली जनताले समान शिक्षा पाउन आवश्यक छ । गाउँमा जनतचेतना जगाउने मानिस नभएको, टाठा बाठा शहर पसेको, गाउँको विकास गर्न जनशक्ति नभएको, दक्ष जनशक्ति र युवाहरु खाडी मुलुक पसेको समस्याहरु राष्ट्रिय स्तरमा उठान गर्ने बताउनुभयो ।
खोटाङ उद्योग बाणिज्य संघका सदस्य समेत रहनुभएका श्रेष्ठलाई विभिन्न जिल्लाहरुमा संघलेनै बस्ने व्यवस्था मिलाउँदै आएको छ । नेपाल भ्रमण सात महिनाभित्रै सक्ने लक्ष्य राख्नुभएका श्रेष्ठले असोज महिनासम्म ७७ वटै जिल्लाको भ्रमण सक्ने योजना रहेको बताउनुभयो ।
भ्रमणका क्रममा भेटेका सबै स्थानीयले समर्थन र सहयोग गरेको तथा यात्रा पनि उपलब्धिमूलक भएको साइकल यात्री श्रेष्ठले बताउनुभयो । श्रेष्ठ पर्वतको भ्रमण सकेर बागलुङ, म्याग्दी र मुस्ताङतर्फ लाग्नुभएको छ ।
धौलागिरि सञ्चार साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!