
पर्वत/ निर्माणाधीन २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा आगलागी भएको छ । उत्पादन दिने अन्तिम चरणमा रहेको आयोजनाको पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने० मा रङ लगाउने क्रममा विद्युत सट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।
आगलागीबाट पाइपमा रङ लगाउँदैगरेका ३ जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेको पर्वत प्रहरीले जनाएको छ ।
आयोजनामा कार्यरत गोविन्द केसीका अनुसार बिहान करिब साढे १० बजे आगो लागेको हो । ३२७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउँदा उज्यालोका लागि लगिएको विद्युत तार सर्ट भएको हो । तार सर्ट भएपछि लागेको आगोले पाइपभित्र लगाएको सबै रङ जलेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । ुफलामको पाइप भएकोले पाइपलाई असर गर्दैन,ु उनले भने, पाइपको भित्री भागमा लगाइएको रङ मात्रै जलेको हो ।
साढे १० बजे लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको आगो निभाउन सक्रिय सुरक्षाकर्मीहरुले बताए । पर्वतका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीसहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको हो ।
आगो लागेको पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकोले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताए । पाइपभित्र लागेको आगोको मुस्लो र धुवाँ पावरहाउसमा जडित डाइनोमा र अन्य उपकरणसम्म समेत फैलिएको थियो । पावरहाउसका उपकरणमा भने क्षति नभएको आयोजनाले जनाएको छ ।