काठमाडौंः सिके राउतको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ। स्वतन्त्र मधेश गठबन्धनलाई विघटन गर्दै सिकेले जनमत पार्टी गठन गरेका हुन्। सिरहाको लहानमा भएको भेलाले नयाँ पार्टीको गठन गरेको हो।
भेलाले १० बुँदे निर्णय गर्दै नयाँ पार्टी गठन गरेको हो। पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरिएको छ। राउतले सरकारसँग जनमतका आधारमा विवाद टुंग्याउने निर्णयसमेत गरेका थिए। उनको पार्टी नै जनमत भएपछि ‘जनमत’ शब्दलाई कसरी प्रयोग गरिएको छ भन्ने विषय अहिलेसम्म खुलेको छैन। सरकारले जनमतलाई चुनावकै रुपमा ब्याख्या गरिरहेको अवस्थामा सिके राउतले भने जनमत संग्रहसमेत भन्ने गरेका छन्।
भेलाले सरकारसँग भएको सहमतिलाई ऐतिहासिक भन्दै स्वागतसमेत गरेको छ। भेलाले सिके राउतलाई राष्ट्रिय अध्यक्ष बनाउँदै ३५ सदस्यीय कार्यकारिणी समिति पनि बनाएको छ। समितिमा १० जनालाई मनोनयन गर्ने जिम्मा पनि राउतले नै पाएका छन्। साथै भेलाले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिनका लागि चन्दन सिंहको संयोजकत्वमा समिति पनि गठन गरिएको छ।






