रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शाखा पर्वतमा, पौडेलद्धारा शुभारम्भ - News site from Nepal

पर्वत–रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा शुभारम्भ भएको छ ।
लामो समयदेखि जीवन विमामा सक्रिय इन्स्योरेन्सको ७३ औ शाखा शुक्रवारदेखि शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले सम्भावित जोखिमहरुबाट बच्नका लागि बिमा अपरिहार्य भएको बताउनुभएको छ । उहाँले जीवन बिमा प्रत्येक नागरिकहरुले गर्नुपर्ने बताउँदै बिमा कम्पनीहरु पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । पछिल्लो समय बिमा कम्पनीहरुको संख्या अत्याधिक मात्रमा बढेको बताउँदै यसलाई अस्वस्थ प्रतिस्पर्धाका लागि भन्दा पनि नागरिकमैत्री सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिमा कम्पनीले बिमकहरुलाई बिमा गर्नुपूर्व सवै जानकारी गराएर मात्र रकम लिन समेत सुझाव दिनुभयो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले हरेक नागरिकका लागि बिमा अत्यावश्यक भएको बताउँदै बिमा कम्पनीहरुलाई पनि नाफामुखि नभई सेवामुखि हुन सुझाव दिनुभयो । उहाँले अझैपनि बिमा कम्पनीहरुले तल्लो तहका नागरिकको मन जीत्न नसकेको बताउनुभयो ।
सो अवसरमा रिलायबल इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले बिमा कम्पनीका सेवा सुविधा र स्कीमहरुका बारेमा जानकारी दिनुभएको थियो ।
कम्पनीको कुश्मा शाखाका प्रमुख उमाकान्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बागलुङ शाखाका प्रमुख नारायण पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!