बागलुङको बलेवामा प्रथम बलेवा महोत्सव शुरु - News site from Nepal
बागलुङको बलेवामा प्रथम बलेवा महोत्सव शुरु

बलेवा : बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । 
दश वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग सङ्कलन गरिने र त्यसबाट रु एक करोडको अक्षयकोष स्थापना गरिने आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो । महोत्सवमा बलेवा क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बलेवा क्षेत्रमा पर्ने साविकका चार गाउँ विकास समितिमा प्रत्येक वर्ष पालैपालो महोत्सव गर्ने गरी पहिलोपटक नारायणस्थानमा महोत्सव आयोजन भएको हो । 
प्रसिद्ध कालभैरव, मनमोहक मुलाबारी क्षेत्र, नेपालकै अग्लो कुश्माकैया झोलुङ्गे पुल र यान्त्रिक पुललगायतका पर्यटकीय क्षेत्रमा दर्शक पु¥याउने गरी व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो । महोत्सवको उद्घाटनमा उद्योग वाणिज्य महासङ्घ नेपालका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालनका लागि वडास्तरमा बैंक तथा वित्तीय संस्थाको पहुँच हुनुपर्ने र शाखारहित सेवामार्फत बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशमा सम्भावना रहेका कृषि, पर्यटन, उद्योग तथा अन्य जुनसुकै क्षेत्रमा आफू लगानी गर्न तयार रहेको भन्दै ढकालले त्यसका लागि सहकार्य आवश्यक हुने बताउनुभयो । 
बलेवामा केवरकार सञ्चालन गर्न सकिने सम्भावना रहेको भन्दै ढकालले सञ्चालनपछिको उपलब्धि मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सकिने बताउनुभयो । बलेवाको विकासका लागि सबै क्षेत्रलाई सहकार्य गर्न आग्रह गर्दै उहाँले शैक्षिक उन्नयनका लागि आयोजना भएको महोत्सवको प्रशंसा गर्नुभयो । 
बलेवामा सफल परीक्षण भइसकेको प्याराग्लाइडिङलाई व्यावसायिकरूपमा सञ्चालन गर्न ढकालले सुझाव दिनुभयो । अबको विकास गाउँ केन्द्रीत हुनुपर्ने भन्दै ढकालले त्यसका लागि सरकारी र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आर्थिक क्षेत्रको विकासका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, प्याराग्लाइडिङमार्फत बलेवा क्षेत्रको अवलोकनलगायतको व्यवस्था आयोजकले मिलाएको छ । 
गरिमालाई उपाधि 
बागलुङमा सम्पन्न तेस्रो गरिमा च्याम्पियनसीप क्रिकेटको उपाधि आयोजक गरिमा आवासीय माध्यमिक विद्यालयले जितेको छ । रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा फ्यूचर ब्राइटर बोर्डिङ स्कूललाई ६३ रनले हराउँदै गरिमाले उपाधि रक्षा गरेको हो । 
टस जितेर ब्याटिङ रोजेको गरिमाले सबै ओभर खेल्दै चार विकेटको क्षतिमा १७४ रन बनाएको थियो । गरिमाका लागि पासिङ पुनले ७२ रन र विजय विकले ६६ रन जोडेका थिए भने फ्यूचर ब्राइटर बोर्डिङ स्कूलका लागि सोभित शेरचन र सन्देश खड्काले दुई÷दुई विकट लिएका थिए । 
जवाफी ब्याटिङमा उत्रिएको फ्यूचर ब्राइटर बोर्डिङ स्कूल १७ ओभरभित्र अलआउट हुँदै १११ रनमा समेटिएको थियो । गरिमा आवासीय विद्यालयलाई जित दिलाउने क्रममा जगतबहादुर छन्त्यालले तीन विकेट र विजय विकले दुई विकेट लिन सफल भए । खेलको म्यान अफ दि म्याच विजेता टिमको लागि ७२ रन जोड्न सफल भएका पासिङ पुन भए । 
त्यस्तै तेस्रो गरिमा च्याम्पियनसीप प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट व्याटसम्यान विजेता टोलीका किसान खड्का भएका छन् । उनले प्रतियोगिताभरि १९४ रन बनाएका थिए भने चार विकेट लिन पनि सफल भएका थिए । त्यसैगरी खेलको उत्कृष्ट बलर भने उपविजेता बनेको फ्यूचर ब्राइटरका सोभित शेरचन भएका छन् । उनले प्रतियोगितामा आठ विकेट लिन सफल भएका थिए । प्रतियोगिताको फेयरप्ले अवार्ड भने धवलागिरि बहिरा आवासीय विद्यालयले पाएको छ । जितसँगै विजेता गरिमा आवासीय विद्यालयले रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको छ भने उपविजेता फ्यूचर ब्राइटरले रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!