पर्वतमा सञ्चालित रेडियोले बुझाए उद्योग सरहको विद्युत महसुल सहुलियतको माग गर्दै प्राधिकरणलाई ज्ञापन पत्र - News site from Nepal

पर्वत– विद्युतिय सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिई विद्युत महसुलमा सहुलियत दिन पर्वतका रेडियोका सञ्चालकहरुले माग गरेका छन् ।
जिल्लामा संचालित ७ वटा रेडियोका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण पर्वत वितरण शाखा मार्फत नेपाल विद्युत प्राधिकरण महसुल निर्धारण आयोग काठमाण्डौँ समक्ष महसुलमा सहुलियतको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
विद्युतिय सञ्चारमाध्यम सेवामुलक उद्योगको रुपमा स्थापित भई नागरिकहरुलाई सूचना दिन र ठुलो संख्यामा रोजगारीको अवसर दिईरहेकाले राज्यले सञ्चारमाध्यमलाई सहुलियत दिनुपर्ने रेडियो सञ्चालकहरुको माग रहेको छ । विद्युत उपभोग गरेवापत प्रतियूनिट रु १२ रुपैयाँका दरले महसुल तिर्दै आएका रेडियो स्टेशनहरुले उद्योग सरह महसुल कायम गरि राहात दिन ध्यानाकर्षण गराएको बताएका छन् ।

सबै रेडियोका अध्यक्ष र स्टेशन म्यानेजरहरुले संयुक्त रुपमा हस्ताक्षर गरि ज्ञापनपत्र पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र विद्युत वितरण केन्द्रका भोजराज बराललाई बझाएका हुन् । पञ्चासे एफ.एमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटा, रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, रेडियो सत्यवाणीका अध्यक्ष हरि न्यौपाने, रेडियो पर्वतका स्टेशन म्यानेजर शंकर शर्मा, रेडियो दिदीबहिनीका स्टेशन म्यानेजर दुर्गा शर्मा, रेडियो कुसुमका अध्यक्ष ठाकुर वि. पौडेल, र रेडियो समृद्ध नेपालका स्टेशन म्यानेजर उत्तम अधिकारीले हस्ताक्षर गरि ध्याकर्षण पत्र बुझाएको जानकारी दिएका छन् ।
उक्त माग कार्यान्वयन भएमा मासिक रुपमा ठुलो रकम रेडियोका लागि बचत हुने भएको छ । अहिले उद्योग प्रतिष्ठानलाई प्राधिकरणले ७ रुपैया २० पैसामा विद्युत उपलव्ध गराउँदै आएको छ ।
नेपालमै पहिलोपटक पर्वतबाट यस्तो माग गरिएको र यो माग सम्बोधन भएमा मुलुकभरका विद्युतीय सञ्चार माद्याम लाभान्वित हुने पञ्चासे एफ.एमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले बताए । साथै यसमा दवाव सिर्जना गर्न सामूदायिक रेडियो प्रसारक संघ अकोराव र व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल बानलाई पनि अनुरोध गरिएको रेडियो सत्यवाणीका अध्यक्ष हरि न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!