कतै मासु र दुध किन्न त लाग्नुभएकाे छैन ? हेर्नुस् यस्ता छन पर्वतकाे कुश्माका मासु पसलहरू - News site from Nepal

पर्वत, २७ चैत- पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित मासु तथा दुग्ध व्यवसाय सुधारोन्मुख भएको पाइएको छ । जिल्ला अनुगमन समिति तथा कुश्मा नगरपालिका पशु सेवा शाखाको संयुक्त दुई दिने अनुगमनबाट मासु व्यवसाय र दुग्ध जन्य व्यवसाय विगतको भन्दा सुधार भएको पाइएको हो ।
यस अघिको अनुगमनमा अधिकांश व्यवसायहरु अबैधानिक रुपमा सञ्चालन भएको पाइएपनि सोमबार र मंगलबार गरी दुई दिनसम्म कुश्मा बजार भित्र भएको डेरी व्यवसाय, मासु पसल र बधस्थलहरुको अनुगमनका क्रममा विगतको तुलनामा कुश्माबजारका मासु व्यवसायहरु बैधानिकता प्राप्त गरेर सञ्चालन भएको पाइएको हो ।


दुई दिन सम्म सञ्चालित अनुगमनबाट ५ दुग्ध जन्य पदार्थ विक्रि वितरण तथा उत्पादन गर्ने डेरी पसल र ३२ मासु पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मासु व्यवसायीहरु मध्ये केही मात्रामा सरसफाईमा सतर्कता अप्नाएको पाइएपनि अधिकांश भन्दा बढी पसलहरु सरसफाईमा विशेष ध्यान दिनुपर्ने गरी सुझाव दिइएको कुश्मा नगरपालिका पशु सेवा संयोजक रामजीप्रसाद पौडेलले बताए । अनुगमन गरिएका व्यवसाय मध्ये कुश्मा नगरपालिकामा व्यवसाय दर्ता नगरेका अधिकांश व्यवसायीहरुलाई सात दिनको समयावधि दिएर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, पत्रकार, उपभोक्ता अधिकार कर्मी र प्रहरी सहितको संयुक्त अनुगमनमा व्यवसायीहरुले विभिन्न स्थानमा कर तिर्नु पर्दा आफुहरुलाई समस्या भएको गुनासो गरेका थिए । कुश्मा बजारमा मासु व्यवसाय सञ्चालन गर्दै आएका गगन फ्रेस हाउसका सञ्चालक मानबहादुर नेपालीले नगरपालिका, घरेलु, आन्तरिक राजश्व कार्यालय लगायतका स्थानहरुमा कर तिर्दा झण्झटिलो हुने गरेको गुनासो उनले गरे । कर तथा नविकरण कार्यलाई एकद्वारा प्रणालीमार्फत तिर्न बुझाउने व्यवस्था गरेमा सहज हुने उनको भनाई थियो ।


सो सँगै सहकारी र डेरी उद्योगहरुले खुल्ला रुपमा बजारमा दुध बिक्री गर्दा ब्याक्टेरियाको संक्रमणको खतरा भएकाले यसलाई सुधार गरेर मापदण्ड अनुसार प्याकेजिङ्ग गरी बिक्री गर्न सुझाब दिइएको र सुधार गर्न समय दिइएको पौडेलले बताए 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!