पर्वत / जिल्ला प्रशासन कार्यालय पर्वतले एक बर्षमा १२ स्थानमा घुम्ती शिबीर सञ्चालन गरेर २ हजार भन्दा बढीलाई गाउँमै पुगेर नागरिकता बितरण गरेको छ ।
पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा गुरुदत्त ढकाल सरुवा भएर आएपछि गाउँघरमै पुगेर सेवा दिने उद्देश्यले एक बर्षको अबधीमा २ हजार भन्दा बढीलाई शिबीर मार्फत नागरिकता बितरण गरेको हो ।
पर्वतमा १३ महिना कार्यरत रहेर कास्कीमा सरुवा भएर जान लाग्नु भएका ढकालले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाहलाई प्राथमिकता दिएको बताउनुभयो । ‘बिभिन्न कारणले सदरमुकाम आएर नागरिकता लिन नसक्नेहरुलाई घरघरमै पुगेर सेवा दिनुपर्छ भन्ने उद्देश्य राखेर काम गरे’ ढकालले भन्नुभयो ‘धेरै हिंसा पिडीत महिलाहरु र बृद्धहरु यो सेवाबाट सबैभन्दा बढी लाभान्वित बनेका छन’ छोरीले आमा नचिन्ने, श्रीमान तथा सासुले नागरिकता नदिएर बस्न बाध्य महिला देखि दोस्रो बिबाह गरेर श्रीमानले हेला गर्दा नागरिकता नभएर बृद्ध भत्ता पाउन नसकेका धेरै मानिसहरुलाई समस्या समाधान गरेर नागरिकता दिने काम भएको प्रजिअ ढकालले बताउनुभयो ।
प्रजिअ ढकालले बाबुको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि बिचल्लीमा परेका ३ जना बालबालिकालाई जमिन खरिद गरेर आवास निर्माण कार्यको थालनी गर्नुभएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ९ का बिशाल, बिवेक र बिश्वास परियारलाई जमिन किनेर आवास निर्माणका लागि पहल गर्नुभएको हो ।
यस बाहेक ढकालले १३ महिने कार्यकालमा २१ वटा सुधारका काम गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कार्यालयमा स्तनपान कक्षको ब्यबस्था, हरेक बुधबार सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्ने, कार्यालयका नयाँ, पुराना अनुसुची फारमहरु बाइण्डिङ्ग गरिएको उहाँले बताउनुभयो । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी प्रसारण करिडोर, मध्यमोदी जलबिद्युत आयोजना, खानेपानी, सिंचाई, स्वास्थ्य लगायतका बिकास निर्माणका योजनाहरुको नियमित अनुगमन गरेर काम छिटो सम्पन्न गर्न सहजीकरण गरेको उहाँको भनाई छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम र अन्य सार्वजनिक सुनुवाई गाउँगाउँमा पुगेर सञ्चालन गर्दा प्रभावकारी बनेको उहाँले बताउनुभयो ।
प्रजिअ ढकालको कास्कीको सहायक प्रजिअको रुपमा सरुवा भएको छ । सरुवा भएपछि ढकाललाई उद्योग बाणिज्य संघ, बिभिन्न सामाजिक संस्थाहरु बिदाई गरेका छन ।






