यी काम गरेँ भन्न नपाउँदै गए रविन्द्र…………!! - News site from Nepal
यी काम गरेँ भन्न नपाउँदै गए रविन्द्र…………!!

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको एक वर्ष पुग्दै थियो । २०७४ चैत २ मा कार्यकाल सम्हालेका रविन्द्र आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिहरूको फेहरिस्त सार्वजनिक गर्ने तयारीमा थिए ।
चैत २ मा सार्वजनिक गर्ने तयारीसहित प्रगति विवरण लगभग तयार भएको थियो । मन्त्रालयका अधिकारीहरूले प्रगति विवरणलाई सम्पादन गरिरहेका थिए । त्यसलाई केही दिनभित्रै अन्तिम रूप दिइँदै थियो । तर दुर्भाग्य! त्यसको १७ दिन अगाडि फागुन १५ का दिन उनको दुःखद् निधन भयो तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा पर्‍यो । दुर्घटनामा मन्त्री अधिकारीसहित ७  जनाले ज्यान गुमाए ।
आफूले गरेका राम्रा कामहरूको सूचीमा हस्ताक्षर समेत गर्न नपाउँदै रविन्द्रले हामीलाई छाडेर गएका छन् ।
यस्तो छ प्रगति विवरण
मन्त्री रविन्द्र अधिकारीको कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त तीनवटा विमानस्थलमा रात्रिकालीन उडान सेवा शुरू गरिएको छ । सो विषय मन्त्रालयको प्रगति विवरणमा समावेश गरिएको छ । मन्त्रालयका अनुसार झापाको भद्रपुर र कैलालीको धनगढी विमानस्थलमा रात्रिकालीन उडान शुरू गरिएको हो । यस्तै जनकपुर विमानस्थलमा पनि रात्रिकालीन उडान शुरू गर्ने तयारी मन्त्रालयले गरेको थियो ।
गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति ६७ प्रतिशत सम्पन्न भएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति २७ प्रतिशत भएको छ ।
त्यसैगरी १ सय १४ वटा सम्पदा पुनर्निर्माण भएका र पर्यटक आगमन समेत १२ लाख पुगेको मन्त्रालयको एक वर्षको प्रगति विवरणमा उल्लेख गरिएको छ । मन्त्री रविन्द्र अधिकारीकै कार्यकालमा थप १० वटा विमानस्थल सञ्चालनमा आएका मन्त्रालयका प्रगति विवरणमा उल्लेख गरिएको छ । ‘विभिन्न कारणले विगत लामो समयदेखि सञ्चालनमा आउन नसकेका थप १० वटा विमानस्थल सञ्चालनमा आएका छन्,’ मन्त्रालयको प्रगति विवरणमा भनिएको छ ।
त्यस्तै सयवटा नयाँ गन्तव्य घोषणा समेत मन्त्री अधिकारीले कार्यकाल सम्हालेपछि नै भएको मन्त्रालयको जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोनतिको काम ४० प्रतिशत सम्पन्न भएको छ । त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलको रनवे र धवनमार्गमा पानी जम्मा हुने समस्या रहेको थियो । त्यसको स्तरोनतिको काम समेत सम्पन्न हुने आवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पार्किङवे विस्तारको काम समेत मन्त्रीको कार्यकालमै अघि बढेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
दुई कार्यविधि मन्त्रिपरिषद्‍मा
मन्त्री अधिकारीले तयार पारेको प्रगति विवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने तयारी भएको उल्लेख छ । त्यसका लागि आवश्यक कार्यविधि समेत बनेको र सो कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पेश गरिएको छ । आगामी १ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने  कार्यक्रम छ ।
मन्त्रिपरिषद्‍मा पेश गरिएको कार्यविधि त्यहाँबाट स्वीकृत भएपछि विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रुपान्तरणका लागि ढोका खुल्ने र आगामी १ वैशाखमा बुटिक एयरपोर्ट घोषणा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ‘भ्रमण वर्ष २०२०’को कार्यविधि समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पेश गरिएको छ ।
सो कार्यविधि समेत स्वीकृतिको चरणमा रहेको मन्त्रालयले जानकारी दिएको छ । सो कार्यविधि स्वीकृत भएपछि भिजिट नेपालको अभियान शुरू हुने मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
‘दैवले हस्ताक्षर गर्न दिएन’
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले एक वर्षको प्रगति विवरण तयार पारेको बताए । सापकोटाले केही दिनमै प्रगति विवरण सार्वजनिक गर्ने तयारी भइरहेका बेला घटना हुन पुगेको र अब चैत पहिलो सातासम्म प्रगति विवरण सार्वजनिक गरिने बताए ।
‘मन्त्रालयले एक वर्षको प्रगति विवरण तयार गर्ने क्रममा रहेको थियो,’ उनले  लोकान्तरसँग भने, ‘त्यसका लागि विवरण तयार भएपनि त्यसमा मन्त्रीज्यूको हस्ताक्षर गर्न बाँकी थियो । दैवले हस्ताक्षर समेत गर्न दिएन ।’

lokaantar.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!