अध्यक्ष मल्लले संघीय व्यवस्थामा पनि जनताले संविधानले दिएको अवसर र अधिकार समेत उपभोग गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश र केन्द्र सरकारबाट स्थानीय तहका अधिकारमाथि अतिक्रमण भएको दाबी गर्दै स्थानीय तहलाई पूर्ण अधिकारसम्पन्न नबनाएसम्म जनताको आर्थिक समृद्धि असम्भव रहेको जानकारी दिनुभयो । अध्यक्ष मल्लले शिक्षा र स्वास्थ्य मानव विकास सूचकांकको प्रमुख आधार मानेर जलजला गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम अघि बढाएको उल्लेख गर्दै त्यसका अलावा पर्यटन, कृषि र पशुपालनलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । मल्लले ग्रामप्रकाश माध्यमिक विद्यालय जलजला गाउँपालिकाको अग्रणी शैक्षिक संस्था भएको वताउँदै विद्यालयको भौतिक पूर्वाधार विकासमा गाउँ पालिकाले सहयोग गर्ने तर शैक्षिक विकास र व्यवसायिक शिक्षाका लागि विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य ओमप्रसाद रेग्मीले विद्यालयमा भवन र कक्षा कोठा मात्रै सुन्दर भएर शैक्षिक सफलता प्राप्त हुननसक्ने भन्दै शिक्षाको गुणस्तर कायम गर्न विद्यालय प्रशासनलाई सुझाव दिनुभयो । उहाँले युगअनुकुलको व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिन समेत आग्रह गर्नुभएको थियो । रेग्मीले जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले आग्रह पूर्वाग्रह नराखी काम गरेकोमा प्रशंसा समेत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, जलजला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तिलकबहादुर जिसी, जलजला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, जलजला गाउँकार्यपालिकाका सदस्य दिनेश नेपाली, नेकपाका प्रतिनिधि डण्डपानी सुवेदी, नेपाली काँग्रेसका प्रतिनिधि तथा जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार यम शर्मा पौडेल, विद्यालयका सहायक प्रअ नारायण मल्ल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका प्रतिनिधि थलराम पौडेल, विद्यालयका भूपू व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द पौडेल, विद्यालयका भूपू प्रधानाध्यापक लेखनाथ रेग्मी, भवन निर्माण समितिका सदस्य जमदार डण्डपानी सुवेदी, काँग्रेसका नेता गोविन्द पौडेल, ग्रामप्रकाश बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लीराज सुवेदी, शालिजा मावि शालिजाका प्रअ कृष्णप्रसाद पराजुली, देविस्थान प्राविका प्रअ धर्मदत्त पौडेल, लेकफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर पौडेल, विद्यालयका छात्र विधान पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुङ्गनाथ पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेलले गर्नुभएको थियोभने स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद रेग्मीले गर्नुभएको थियो । २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुईसय ५० जना विद्यार्थीले अध्ययन गर्दै आईरहेको प्रधानाध्यापक भवानीशंकर पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयका पूर्व शिक्षक विष्णुप्रसाद सुवेदीले आफ्नो स्वर्गीय श्रीमती डिलकुमारी सुवेदीको नाममा दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।






