अब टेन्सन नलिनुहोस् पर्वतका सबै गाउँमा थ्रीजी इन्टरनेट - News site from Nepal
अब टेन्सन नलिनुहोस् पर्वतका सबै गाउँमा थ्रीजी इन्टरनेट

पर्वत — कुनै बेला आफन्तसँग कुरा गर्नुपर्दा रूखका टुप्पा र अग्ला डाँडामा पुगेर मोबाइलको नेटवर्क खोज्ने फलेबास–३ मासखेतका कृष्णप्रसाद सापकोटा अहिले घरैबाट विदेशमा रहेका आफन्तसँग भिडियोमा कुरा गर्छन् । महाशिला–२ भोक्सिङका जितबहादुर गुरुङलाई पनि अहिले ढुक्कले आफन्तसँग सामाजिक सञ्जालको माध्यमले फोन गर्न पाएका छन् ।
जिल्लाका सबैजसो स्थानमा टेलिकमको थ्रीजी इन्टरनेटसहितको सेवा पुगेपछि अहिले जिल्लाका जुनसुकै कुना काप्चामा समेत इन्टरनेट सहज भएको छ । यसअघि टेलिकमले जिल्लाका सबै स्थानीय तहमा ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट पुर्‍याउने लक्ष्य अघि सारेको थियो ।
लक्ष्यअनुरूप जिल्लाको मोदी, फलेबास, पैयुँ, कुश्मा नगरपालिका र जलजलाका बजार क्षेत्रमा ल्यान्डलाइन टेलिफोन र एडीएसएल सेवा विस्तार गरिसकेको थियो । ल्यान्डलाइन सबैतिर पुर्‍याउन सम्भव नभएपछि टेलिकमले ग्रामीण क्षेत्रमा हालै २३ वटा बीटीएस टावर विस्तार गरेर इन्टरनेट र टेलिफोनको सहज पहुँच विस्तार गरेको हो ।
यसअघि टेलिकमका टावरले राम्रोसँग काम नगर्ने र इन्टरनेट चलाउन समस्या भएका कुनाकाप्चामा टावर थपिएको नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशवप्रसाद भुसालले जनाए । उनका अनुसार यस्तो नयाँ प्रविधिका टावर पैयुँको हुवास, बिहादीको शालिग्राम, महाशिलाको बालाकोट, फलेबासको थापाठाना, शंकरपोखरी, खानीगाउँ, पाङराङ र मुडिकुवामा विस्तार भएको छ ।
कुश्मा नगरपालिकाका पकुवा, पीपलटारी, गोदाम, दुर्लुङ र पाङमा टावर निर्माण गरिएको छ । जलजलाका धाइरिङ, सालिजा, मोदी गाउँपालिकाको पातिचौर, गिज्यान, क्याङ, वाजुङ, र भुकताङलेमा पनि जडान गरिएको छ ।
‘यसअघि कम्प्लेन आएका सबैजसो स्थानमा थ्रीजीसहितका नयाँ बीटीएस थपेका छौं,’ भुसालले भने, ‘नयाँ बीटीएसले काम गरेपछि सबै क्षेत्रमा थ्रीजी सहज हुन्छ ।’ यसले स्थानीयलाई सेवासँगै हाम्रो व्यवसाय विस्तारमा सहयोग पुग्छ ।
टावर विस्तार गरिएको ठाउँमा राम्रो सेवा प्राप्त भएको स्थानीयले बताएका छन् । पहिले मोबाइलमा टावर नटिप्ने समस्या रहेको ठाउँमा सहजै टावर टिपेको र द्रुत गतिमा थ्रीजी सेवा उपयोग गर्न पाएको मोदी–५ बाजुङस्थित सरस्वती प्राविका प्रअ वीरेन्द्र हमालले बताए । ‘यसअघि मोबाइलमा इन्टरनेट चलाउन पनि कुश्मा जानुपर्थ्याे ,’ हमालले भने, ‘अहिले घरघरै कुनाकाप्चामा पनि मज्जालेचलेको छ ।’
टेलिकम पर्वतले चालु वर्ष सबै क्षेत्रको सेवा विस्तार र गुणस्तर सुधारका लागि चाइनिज कम्पनीसँग सम्झौता गरेर नयाँ प्रविधि विस्तार गरेको हो । प्रविधि विस्तारमा हालसम्म शंकरपोखरी, खानीगाउँ, अम्बोटलगायतमा विस्तार गर्न करिब १ महिना समय लागेको प्राविधिकहरूले बताएका छन् । अब सबै क्षेत्रमा थ्रीजीको टावर सकेपछि थप सबै स्थानमा फोरजी थप गरिने टेलिकमले जनाएको छ ।
इकान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!