काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख जिल्ला अधिकारी संघीय सरकारले नै राख्ने बताएका छन।
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रदेश सरकारलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) राख्ने अधिकार संविधानले नदिएको बताएका हुन्। ‘प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने होइन, संघीय सरकारले हो। प्रदेश २ वा प्रदेश ३ को कुरा होइन। संघीय सरकाले नै सिडिओ राख्ने संवैधानिक व्यवस्था हो’, मन्त्री बाँस्कोटाले भने, ‘संघीय सरकारले संविधानमा व्यवस्था भएअनुसारका पद्दति कार्यान्वयन गर्ने हो।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश अन्तर्गतका जिल्लामा प्रमुख जिल्ला अधिकारी राख्ने घोषणा गरेका थिए।
उनले संघीय सरकारले सिडिओ परिचालन गर्ने अधिकार प्रदेश सरकारलाई नदिए आफैँले सिडिओ राख्ने बताएका थिए। मन्त्री बाँस्कोटाले सबैले नेपालको संघीयताको मोडेल बुझ्नुपर्ने बताएका छन। उनले देशमा एकमात्र नेपाल सरकार रहेको बताउँदै बाँकी प्रदेश र स्थीय सरकार नेपाल सरकार मातहतका प्रशासनिक निकाय भएको तर्क गरे। बाँस्कोटाले नेपाल सरकारबिना प्रदेश र स्थानीय सरकार पूर्ण नहुने बताए। सिंहदरबारको अधिकार जनताका आँगनमा पुर्याउन प्रदेश र स्थानीय सरकार गठन गरिएका उनको भनाइ थियो। त्यस्तै, प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार गठन गर्न नमिल्ने भन्ने व्यवस्था नभएको बाँस्कोटाको भनाइ थियो।
उनले संघीय संसदमा सरकार गठनका लागि कुनै दलले बहुमत पुर्याए पुग्ने भन्दै प्रदेश २ मा पनि नेकपाले बहुमत पुर्याए सरकार गठन गरे नौलो नहुने बताए। ‘देश २ मा सरकार कम्युनिस्ट पार्टीले गठन गर्न पाउदैन भन्ने छैन। यो राजनीति हो। प्रदेश २ लाई हाउगुजीका रूपमा बुझ्न हुँदैन,’ उनले भने । केही दिन पहिले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकारले मधेसी जनताको भावनाअनुसार काम गर्न नसकेकाले त्यहाँ नेकपाको सरकार गठन गर्ने अवस्था आउनसक्ने बताएका थिए। उनले नेकपाले थोरै चलखेल गरे सरकार गठन गर्नसक्ने तर प्रदेश २ सरकार राम्रो काम गरोस् भनेर वातावरण बनाएको बताए। राष्ट्रपतिको चीन भ्रमण उपलब्धिमूलक मन्त्री बाँस्कोटाले हालैमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीनको राजकीय भ्रमण नेपालका लागि उपलब्धिमूलक भएको बताए। चीन भ्रमणमा नेपाललाई पारवाहन र रोड एन्ड बेल्ट इनिसिएटिभमा महत्वपूर्ण उपलब्धि मिलेको बाँस्कोटाको भनाइ थियो। ‘पारवहन र प्रोटोकलको कार्यान्वयनमा सफलता मिलेको छ। नेपालको प्रशान्त महासागरसम्म पहुँच पुर्याउने मृगमरिचिका रहेको थियो, यो पूरा भएको छ’, बाँस्कोटाले भने। नेपालको परराष्ट्र नीति नेपाली जनताको आवश्कयताका आधारमा चल्ने भएकाले कसैले पनि चीनसँग गरिएका सहमतिबाट अन्यथा कुरा राख्न नहुने बाँस्कोटाको भनाइ थियो।
उनले चीनसँग गरिएका सहमति कार्यान्वयन गर्दा भारत चिढिने हो कि भन्ने प्रश्नमा नेपालमा अब चीन र भारत कार्ड असफल भइसकेको बताए। २१औँ सताब्दीअनुसारको परराष्ट्र सम्बन्ध राख्न नेपाल स्वतन्त्र भएको उनको भनाइ थियो। उनले भने, ‘अन्तर्राष्ट्रिय पद्दती र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा नै नेपालको परराष्ट्र नीति संचालन हुने हो। भारत र चीन मार्फत समुद्रसम्म हाम्रो पहुँ हुनु गर्वको कुरा हो। त्यसैले चीन र भारत कार्ड खेल्न आवश्यक छैन। २१ औँ सताब्दिमा हाम्रो हीतका लागि अन्तर्राष्ट्रिय सम्बन्ध राख्छौँ।’






