रबिन्द्र यस्तै मरण चाहान्थे – सहपाठि भोलानाथ शर्मा - News site from Nepal
रबिन्द्र यस्तै मरण चाहान्थे – सहपाठि भोलानाथ शर्मा

पर्वत : हेलीकोप्टर दुर्घटनामा परेर मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि देश रोएको छ। स्व. मन्त्री अधिकारीले पर्यटनको क्षेत्रबाट देशमा समृद्धि ल्याउन सकिन्छ भने सोचेर नै सोही अनुसारका योजना बनाइरहेका थिए। रवीन्द्रले देशको समृद्धिको बारेमा थुप्रै सपना त बनाए तर आफ्नो मृत्युको बारेमा पनि उनले यस्तै खालको परिकल्पना २५ वर्ष पहिले नै गरेका थिए।
पर्वतमा रहेर कानुन व्यवसाय गर्दै आएका भोलानाथ शर्मा रवीन्द्रसँग १० वर्ष सँगै पढेका र २ वर्ष एउटै कोठामा बसेका व्यक्ति हुन्। शर्माको अनुभवमा रवीन्द्र युवा अवस्थाबाटै जुझारु, मिलनसार, समझदार, वैचारिक स्पष्टता भएका अथक योद्धा थिए। वि.सं. २०४५ सालमा भोलानाथ पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तहको पहिलो वर्षमा भर्ना हुँदा रवीन्द्र प्रमाणपत्र तहकै दोस्रो वर्षमा अध्ययनरत थिए। दुवै जनाले १० वर्षसम्म पिएन क्याम्पसमै अध्यनन गरे।
त्यो बीचमा ५० साल देखि ५२ सालसम्म शर्मा र अधिकारी होस्टलको कोठा नं. ३० मा सँगै बसे। त्यो बीचमा शर्माले अधिकारीलाई राजनीतिमा राम्रैसँग सघाए भने उनको बारेमा सबै जान्ने मौका पनि पाए। शर्माका अनुसार अधिकारीलाई दोहारी, कविता, सांस्कृतिक कार्यक्रममा निकै चासो थियो। कहिलेकाहीँ गीत, कविता लेख्ने र गुनगुनाउने गर्थे उनले।
दास ढुंगा घटनामा मलामीको प्रसंग २०५० सालमा दास ढुंगामा भएको गाडी दुर्घटनामा मदन भण्डारी र जीवनाथ आश्रितको निधन भयो। त्यो बेलामा रवीन्द्र अधिकारी स्ववियु सभापति थिए भने शर्मा अरू विद्यार्थीसँग वार्ता गर्ने समितिको संयोजक थिए। दासढुंगा दुर्घटनापछि पिएनमा अध्ययनरत विद्यार्थीहरु लिएर शर्मा र अधिकारी मलामी जानको लागि काठमाडौं गएका थिए। उनी त्यहाँ निकै भावविह्वल हुँदै रोएको शर्माले बताए। ५० साल जेठको ५÷६ गतेतिर कता हो फर्किने बेलामा गाडीमा पनि रबिन्द्र निकै रोएका थिए र शर्माले जसोतसो सम्झाउँदै उनलाई पोखरा ल्याएका थिए। गाडीकै यात्राका क्रममा रबिन्द्रले भोलासँग भनेका रेहछन्, ‘भोला उहाँहरूको निधनले मुटुमा गाँठो परेको छ, मन थाम्नै सकेको छैन्। तर मरण त यही ठिक लाग्यो मलाई।’ उनको यो भनाई सम्झेर भक्कानिएर आँशु निकाल्दै कानुन व्यवसायी भोलाले भने, ‘ऊ बेलामा यस्तै खालको मरण ठीक हुँदो रहेछ भनेको मान्छेले आज त्यस्तै मरण पायो। म सपनामा छु कि विपनामा छु? म आफैँ केही मेसो नै पाएको छैन।’ रवीन्द्र चाहान्थे कि कसैको नराम्रो नभएकै बेलामा मर्न पाउने हो भने सबैको माया पाईन्छ, देश रुन्छ। कसैको अप्रिय नहुँदै मर्न पाउने हो भने सबैले सम्झीने भएकाले नै उनले त्यो बेलामा मदन भण्डारी र जीवनाथ आश्रितको जस्तै मृत्यु मन पराएको भोलानाथ शर्मा बताउँछन्।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!