पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं.५ खानिगाउँमा पाँच दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरले स्थानीय स्तरमै गुणस्तरीय दन्त सेवा प्रदान गर्न थालेपछि सर्वसाधारणमा उत्साह देखिएको छ ।
धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरको पहिलो दिनमै १ सय ४५ जनाले दन्त परीक्षण गराएका छन् । उपचारका लागि बिहानैदेखि स्थानीयको उल्लेख्य भीड लागेको थियो ।
शिविरमा दाँत सफा गर्ने, भर्ने, उखाल्ने, चम्काउने, मुख तथा दन्त रोगको परीक्षण र परामर्श लगायतका सम्पूर्ण सेवा निःशुल्क रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ । सामान्यतया महँगो पर्ने दन्त उपचार सेवा गाउँमै निःशुल्क पाइएपछि सेवाग्राहीहरू लाभान्वित भएका छन् ।
शिविरको उद्घाटन गर्दै फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ता शिविरले ठूलो राहत दिएको बताउनुभयो । तिवारीले भन्नुभयो, ‘स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार हो । गाउँमा बसेर शहरको जस्तो सेवा पाउन अझै कठिन छ । यस्ता शिविरहरूले नागरिकलाई सहज रूपमा उपचार सेवा दिलाउनुका साथै स्वास्थ्यप्रति सचेतना समेत बढाउने काम गर्छन् । आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नेछ ।’
शिविरमा विशेषज्ञ डाक्टर स्वागत माहान्त र निरज ढ्याकु सहित १७ जनाको स्वास्थ्य टोली खटिएको छ भने ५० जना दन्त विद्यार्थीहरूले पनि प्रत्यक्ष रूपमा सेवा प्रदान गरिरहेका छन् । अनुभवी चिकित्सकसँगै विद्यार्थीहरूको सहभागिताले सेवा प्रभावकारी बनेको आयोजकले जनाएको छ ।
शिविरमा पर्वत जिल्ला र छिमेकी बागलुङ जिल्लावाट सर्वसाधारण उपचारका लागि आएका छन् । विशेषगरी दाँत दुख्ने, गिजा सम्बन्धी समस्या, किरा लाग्ने तथा पुराना दन्त समस्याबाट पीडित नागरिकले शिविरबाट लाभ लिइरहेका छन् । आयोजकका अनुसार ग्रामीण भेगमा दन्त स्वास्थ्यप्रति चेतनाको कमी र नियमित उपचारको अभावका कारण समस्या जटिल बन्दै जाने भएकाले यस्ता शिविर अत्यन्त आवश्यक छन् । पाँच दिनसम्म सञ्चालन हुने उक्त शिविरले हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ ।






