बार्सिलोना, स्पेन — स्पेनमा सञ्चालन भइरहेको आध्यात्मिक मेलामार्फत नेपाली समुदायबीच उल्लेखनीय सहयोग संकलन भएको छ। हालसम्म ७३,७९८.७८ युरो र ५३,३४३.५६ युरो गरी कुल १,२७,१४२.३४ युरो संकलन भएको आयोजकले जनाएको छ।
यस मेलाको मुख्य उद्देश्य स्पेनमा रहेका नेपालीहरूका लागि “नेपाल घर” निर्माण गर्नुका साथै धार्मिक तथा सांस्कृतिक कार्यका लागि मन्दिर निर्माण गर्नु रहेको छ। कार्यक्रम अध्यक्ष सन्तोष श्रेष्ठको संयोजकत्वमा सञ्चालन भइरहेको छ।
आयोजकका अनुसार स्पेन मात्र नभई अन्य विभिन्न देशहरूबाट समेत दाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूदेखि लिएर स्पेनमा भर्खरै आएका नवआगन्तुक नेपालीहरूले समेत खुलेर सहयोग गरेका छन्। व्यक्तिगत रूपमा १५,५५५ युरोसम्म दान गर्ने दाताहरू पनि रहेका छन्।
मेलाको पहिलो दिन समुद्री किनारबाट पञ्चकन्यासहित १०८ भन्दा बढी कलश यात्रासहित भव्य रूपमा शुभारम्भ गरिएको थियो। पञ्चकन्याको पूजा–आराधनापछि सुरु गरिएको महायज्ञमा दैनिक रूपमा पूजा, प्रवचन तथा भजन–कीर्तनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
महायज्ञमा प्रख्यात वक्ता पण्डित प्रविण दीनबन्धु पोखरेलद्वारा दैनिक प्रवचन भइरहेको छ, जसले कार्यक्रममा सहभागीहरूको धार्मिक आस्था अझ मजबुत बनाइरहेको छ।
आयोजकले यस पवित्र अभियानलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई एकजुट भई सहयोग गर्न आह्वान गरेका छन्।






