पर्वतको जलजलाका एक युवामा कोरोना संक्रमणको लक्षण, कसै संग सम्पर्क नगर्न सल्लाह - News site from Nepal

पर्वत – कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतका एक युवामा संक्रमणको लक्षण देखिएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवालाई यात्रा गरेको त्यसको दुई दिन पछि ज्वरो आएको र अहिले सम्म रुघाखोकी लागि रहेको पाइएको हो ।
गत चैत्र ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाट उनी पनि युवती संगै पोखरा आएको आफन्तले जानकारी दिए । घर फर्केको दुई दिनमा ज्वरो आएपछि उनले सिटामोल किनेर खाएका थिए भने अहिले पनि रुघा र खोकी छ । युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि मात्रै ती युवाले समेत आफुँलाई पनि संक्रमण भएको हुन सक्ने शंका गरेको बताइन्छ ।
उनको अबस्थामा सामान्य भएपनि पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले युवामा देखिएका लक्षणहरु कोरोनाको लक्षण संग मिल्ने बताउनुभयो । उहाँले बिरामी संग आफुँले पनि सम्पर्क गरेको र केस ‘सस्पेक्टेड’ देखिएको जानकारी दिनुभयो । ‘युवाको स्वाव परिक्षण गर्नुपर्ने भएकाले त्यसको तयारी भएको छ।’ उहाँले भन्नुभयो ‘युवालाई तत्काल एक्लो घरमा बस्न र कसै संग सम्पर्क नगर्न सल्लाह दिएको छु।’
युवा घरमा फर्केपछि सोही घरमा श्राद्ध भएका कारण श्राद्ध खान छिमेकी र इष्टमित्र समेत आएका थिए । युवा गाउँमा समेत डिहडुल गरेको पाइएको छ। जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले युवा बिमानमा संगै आएको र कोरोना सग मिल्ने लक्षण देखिएकाले स्वास्थ्यकर्मीको सहयोगमा आबश्यक निर्णय लिन लागिएको बताउनुभयो ।
यसैबिच युवालाई घरमै पुगेर भेटका कुस्मा नगरपालिका वडा ७ का उनका आफन्तलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । शिबालय माबिमा रहेको क्वारेन्टाइनमा राख्ने तयारी भएको कुस्मा वडा नं ६ का अध्यक्ष रुद्र गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari