पर्वत– सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतद्धारा कुश्मा नगरपालिकासँगको समन्वय र सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम कुश्मामा शुरु भएको छ ।
आजदेखि शुरु भै वैशाख १५ गते समापन हुने तालिमको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै जोशीले विपद व्यवस्थपनमा सुरक्षा निकाय भन्दा पहिलो जिम्मेवार स्वयंय नागरिक र समुदायका व्यक्तिहरु रहेको बताउनुभयो । विपद जुनसुकै बेला र जुनसुकै परिस्थितमा पनि आईपर्ने बताउँदै उहाँले विपद् व्यवस्थापनका लागि नागरिकहरु बर्दी बिनाको सुरक्षा कबच भएको उहाँको भनाई छ । यो तालिम पनि समुदायस्तरमा समेत स्वयंसेवकको रुपमा सक्रिय भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका गणपती शसस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले विपद व्यवस्थापनमा शसस्त्र प्रहरीले खेल्दै आएको भूमिका र भावी योजनाका बारेमा जानकारी दिनुभयो । उहाँले विपद् व्यवस्थापन र न्यूनिकरणका लागि भैरहेका गतिविधिका बारेमा समेत जानकारी दिनुभयो ।
विपदका बेला टाढाको आफन्त भन्दा नजिकको छिमेकीनै बढि उपयोगी हुने बताउँदै उहाँले समुदायस्तरमै दक्ष जनशक्ति उत्पादन गरेर विपद् न्यूनिकरणमा टेवा पुर्याउन यो तालिम संचालन गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रबहादुर रिमालले पनि बोल्नुभएको थियो । तालिममा कुश्मा नगरपालिकाका १४ वटै वडाका नागरिकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका विपद विज्ञहरुले गर्नेभएका छन् ।
तालिम उद्घाटन कार्यक्रमको संचालन शसस्त्र प्रहरी निरिक्षक धर्मबहादुर थापाले गर्नुभएको थियो ।






