पर्वत- पर्वत जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिउँदो कुखुरा, कुखुराको मासु, अण्डा तथा कुखुराको दाना आयातमा रोक लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले अर्को सूचना जारी नभएसम्म आजदेखि आयातमा रोक लगाएको हो । देशका विभिन्न जिल्लामा उच्च संक्रामक बर्ड फ्लु पुष्टि भइसकेको र पर्वतमा समेत संक्रमण फैलिन सक्ने जोखिम देखिएकाले यस्तो निर्णय गरिएको हो। जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
कार्यालयका अनुसार संक्रमित जिल्लाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसार पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । अत्यावश्यक अवस्थामा भने मान्यता प्राप्त पशु चिकित्सकद्वारा जारी गरिएको स्वास्थ्य प्रमाणपत्रका आधारमा मात्र ओसारपसार गर्न पाइने व्यवस्था गरिएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संक्रमण नियन्त्रणका लागि कुखुरा फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ । फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउने, प्रवेश गर्दा अनिवार्य निसंक्रमण गर्ने, व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्ने तथा नियमित सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, प्रयोग भएका सामग्री पुनः प्रयोग नगर्न तथा फार्म परिसरमा सवारी साधनको प्रवेश नियन्त्रण गर्न पनि कृषकहरुलाई आग्रह गरिएको छ ।
कुखुरामा अस्वाभाविक लक्षण देखिएमा वा अचानक मृत्यु भएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ । मरेका कुखुरालाई सुरक्षित रूपमा गाड्ने वा जलाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।
कार्यालयले सबै कृषक, व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउँदै रोग नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ । जिल्ला बर्ड फ्लु नियन्त्रण समिति पर्वतको बिहीवार बसेको बैठकले समेत बर्डफ्लु नियन्त्रणका लागि सवै एकजुट हुन आग्रह गरेको छ ।
यस अघि पर्वतमा गत महिला फैलिएको स्वाईन फिवर रोगका कारण झण्डै एक सय वटा सुंगुर, बंगुर मरेका थिए ।






