मतदाता भेट्न पर्वतका उम्मेदवार पोखरामा - News site from Nepal
मतदाता भेट्न पर्वतका उम्मेदवार पोखरामा
पर्वत, ३ फागुन : आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि पर्वतका उम्मेदवारहरु भोट माग्न र मतदाता भेटघाटका लागि प्रदेश राजधानी पोखरा पुग्न थालेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले आइतवार पोखरा पुगेर मतदाताहरुसँग भेटघाट, तथा अन्तरक्रिया गर्नुभएको छ । पर्वत–पोखरा सम्पर्क समितिद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पोखरामा बसोबास गर्ने पर्वतेलीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आपसी एकता, सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय विस्तार तथा समग्र क्षेत्रीय विकासका विषयमा छलफल भएको हो । सहभागीहरूले आफ्ना अनुभव, समस्या र सुझाव प्रस्तुत गर्दै सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । युवाहरूको भूमिका, महिलाको सहभागिता र सामाजिक संस्थाबीच सहकार्य कसरी बढाउने भन्ने विषयमा पनि विचार प्रस्तुत भएको थियो ।
यस अघि नेकपा एमालेका उमेदवार पदम गिरीले पनि पर्वतमा घरदैलो, भेटघाट अभियान शुरु हुन पुर्व नै पोखरा पुगेर पर्वतेली मतदाताहरुसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो । नेकपा एमाले पर्वत–पोखरा सम्पर्क मन्चले राखेको कार्यक्रममा सहभागि हुँदै गिरीले पर्वतको विकास र समृद्धिका लागि एमालेलाई बिजयी गराउनका लागि जिल्ला फर्केर मतदानमा सहभागि हुन आग्रह गर्नुभएको थियो । गिरीले पोखरा लगायत चितवन, बुटवल समेत पुगेर जिल्लावासी मतदाताहरुसँग भेटघाट तथा मतदानका लागि आव्हान गर्नुभएको थियो ।
यसैगरी नपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी शर्माले पनि पर्वतमा अभियान शुरु हुनु पुर्वनै पोखरा पुगेर पत्रकार सम्मेलन गरी आफ्‌ना योजना तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । उक्त प्रवन्ध पोखरामा रहने नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले मिलाएका थिए । यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने पोखरामा सम्पर्क कार्यालयनै खोलेर भेटघाट तथा छलफल गर्ने गरेको जनाएको छ ।
गाउँमा मतदाता नामावली भएका तर शिक्षा, ब्यापार ब्यवसाय र अन्य कामको शिलशिलामा स्थायी रुपमा पोखरामा बसोबास गर्ने पर्वतेलीहरुलाई भेटेर उनिहरुका सुझाव, अपेक्षा, गुनासा सुन्न पोखरा पुगेको काँग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशीले बताउनुभयो ।
वि.स. २०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सिमित थियो । प्रदेश राजधानी र विभिन्न सेवा सुविधाका हिसावले पर्वतवाट पोखरा बसाईसराई जानेहरुको संख्या बढ्दो क्रममा रहेको छ । तर मतदाता नामावली पर्वतमै भएका उल्लेख्य रहेका छन् । यसपाली चिसोका कारण मतदाताहरु पनि बजार तथा बेशीमा झरेका, अध्ययन, ब्यापार, ब्यवसायको शिलशिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदाताहरुलाई पनि उमेद्वारहरुले महत्व दिएका हुन् ।
बजारबाट मतदानका लागि गाउँमा पुग्नेमतदाताहरुले निर्वाचन परिणाम प्रभावित पार्ने आँकलन र विष्लेषण गरेर उमेद्वार तथा राजनीतिक दलहरु उनिहरुसम्म पुग्न थालेका हुन् । जसका लागि राजनीतिक दलहरुले आफ्नो कमिटि बनाएका छन । उमेद्वारहरुले आफन्त र साथीहरुलाई परिचालन गरेका छन् ।अवसर र सुविधाका लागि बजारमा झरेका मतदाताहरुले उमेद्वारहरुसँग गाउँमा फर्किने वातावरण बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र सातवटा स्थानीय तह रहेको पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता छन् । ७६ वटा मतदान स्थल र एक सय ५१ वटा मतदान केन्द्र रहेका छन् । मनोनयन दर्तासँगै उमेद्वारहरुले मतदाता भेटघाट र कार्यकर्ता परिचालनमा जोड दिएका छन् ।
पर्वतमा नेपाली काँग्रेस, एमाले, नेकपा र स्वतन्त्र उमेद्वार मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । उमेद्वारहरुले नीति निर्माण तहमा पर्वतको आवाज उठाउने, कानुनमा जिल्लाबासीको भावना तथा समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषि मार्फत रोजगारी सिर्जना तथा जलविद्युतमा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!