कृषकलाई गाईभैसी खरिद गर्न मोदी गाउँपालिकाले अनुदान दिने  - News site from Nepal
कृषकलाई गाईभैसी खरिद गर्न मोदी गाउँपालिकाले अनुदान दिने 
पर्वत, २७ माघ : पर्वतको मोदी गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई वा भैसी खरिद गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
आर्थिक अभावका कारण व्यावसाय शुरु गर्न नसकेका वा निरन्तर व्यावसाय गर्दै आएका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि अनुदान वितरण गरिने भएको हो । गाउँपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक कृषकहरुको जीवनस्तरमा समेत सुधार ल्याउने उद्धेश्यले यस वर्षदेखि गाई भैसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
पुरीका अनुसार प्रति एक गाई वा भैसी खरिद गर्ने कृषकलाई रु. २५ हजार रुपैया अनुदान दिईने भएको छ । गाई वा भैसी जेसुकै खरिद गरिएको भएपनि ब्यावसायिक दुध उत्पादन गर्नुपर्नेछ भनिएको छ । कुनै सहकारी, सामुहिक वा ब्यक्तिगत व्यावसायिक फार्म तथा पालिकाभित्रका जुनसुकै कृषकले पनि अनुदान लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत पुरीले बताउनुभयो ।
अनुदान लिनका लागि सम्वन्धित वडा कार्यालयको सिफारीस, तोकिएको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, ब्यावसाय संचालनका लागि जग्गा करारमा लिएको कम्तिमा पाँच वर्षको सम्झौतापत्र वा जग्गाधनीको लालपुर्जा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । सोमवार पालिकाले सुचना प्रकाशन गरी १५ दिनभित्र इच्छुक कृषकले आवेदन दिई अनुदान माग गर्न अनुरोध गरिएको छ ।
बढ्दो युवा पलायन, बाँदर आतंक, बजार अभाव लगायतका कारणले कृषि तथा पशुपालन व्यावसायमा लाग्ने कृषकहरुको संख्या न्यून हुँदै गएको बेला यसतर्फ आकर्षण गर्नका लागि पनि यो कार्यक्रमले प्रोत्साहन मिल्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा २० वटा गाई वा भैसी खरिद गर्नका लागि बजेट बिनीयोजन भएकोमा कृषकहरुको माग बढ्दै गएमा अर्को वर्ष थप गर्दै लगिने बताउनुभयो ।
पोखरा–बागलुङ सडक तथा अधिकांस वडातहसम्म कालोपत्र सडकको पहुँच पुगेको मोदी गाउँपालिका कृषि तथा पशुपालनका लागि उर्वर भूमिको रुपमा परिचित छ । अहिलेपनि बाजुङ, देउपुर, भुकताङ्ले, तिलाहार लगायतका स्थानका कृषकहरुले व्यावसायिक रुपमा दुध, तरकारी, कुखुरा तथा बाख्रापालन व्यावसाय गर्दै आएका छन् ।
गाउँपालिकाले यस अघि बैदेशिक रोजगारवाट फर्किर गाउँमै उद्यम गरेका उद्यमीहरुलाई पनि प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको थियो भने विभिन्न फलफुल तथा तरकारीका बिऊबीजन, हाईटेक टनेल, मिनिटिलर तथा मिलहरु, र मासु, डेरीपसल जस्ता व्यावसायीहरुलाई पनि प्रोत्साहनका लागि अनुदान वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!