पर्वत, २२ माघ : असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ ।
पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार वडा तहमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको सम्झौता तथा खाता सञ्चालन गर्नको लागि ताकेता गरिएको प्रमुख प्रशासकिय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिनुभयो ।
आगामी फागुन १५ गते भित्र आवश्यक कागजातहरु सहित सम्झौताका लागि कार्यालयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपस्थित हुन समेत पालिकाले आग्रह गरेको छ । समयमै सम्झौता भएर काम शुरु नगरे बजेट फ्रिज हुने र योजनाहरुको पारदर्शिता तथा गुणस्तरीय समेत नहुने भएकाले पालिकाले ताकेता गरेको उहाँको भनाई छ ।
पालिकाबाट स्वीकृत भएका योजनाहरु आर्थिक वर्षको अन्त्यमा सम्झौता हुने र वर्षायाम शुरु हुने बेला हतार हतारमा गणस्तर हिन काम गरि फछ्र्यौट गरेर भुक्तानी लिने प्रचलन बढ्दै गएपछि अहिलेदेखि नै ताकेता गरिएको हो । पालिकाले रु.१० लाख सम्मका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दै आएका छ ।
सडक, खानेपानी, सिंचाईका साना योजनाहरु, सामुदायिक भवन, गोरेटो, घोडेटो बाटो, पदमार्ग लगायतका साना लागतका योजनाहरु उपभोक्ता समिति मार्फत गरिदैँ आएको छ । यस्ता योजनाहरु झण्डै १ सयको हाराहारीमा रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत रेश्मीका अनुसार योजना सम्झौताका लागि आउँदा उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, वडा कार्यालयको सिफारिस पत्र, पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, बैंक खाता खोल्ने पदाधिकारीहरुको विवरण, निर्माण उपभोक्ता समितिको छाप लगायत ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा बिनीयोजित बजेटको सहि कार्यान्वयन र नागरिकका आवश्यकता र चाहाना पुरा गर्नका लागि गाउँपालिका सक्रिय रहेको उपाध्यक्ष मिना शर्मा तिवारीले बताउनुभयो । उहाँले सत्प्रतिशत योजना सम्पन्न गर्नेगरी गाउँपालिकाले सक्रियता बढाएको पनि बताउनुभयो ।






