पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु - News site from Nepal

पर्वत, ९ पुस : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलवारदेखि सदरमुकामक कुश्माबजार स्थित बडागाउँ खेल मैदानमा शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा शुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराँते र तेक्वान्दो खेलहरु संचालन भएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दैैै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले खेल क्षेत्रको विकासका लागि तीनवटै तहका सरकारले बजेट र कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रको विकासवाट मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान झल्काउन सकिने र खेल पर्यटन मार्फत आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले यसको विकासका लागि सवैले जोड दिनुपर्ने उहाँको भनाई छ ।

दिन प्रतिदिन खेलाडीहरु पलायन भैरहेको अवस्थामा उनिहरुलाई खेल क्षेत्रमै टिकाउनु अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाई छ । सांससद कुँवरले राष्ट्रपति रनिङ शिल्डले विद्यालय स्तरदेखिनै खेल क्षेत्रतर्फ आकर्षण गर्न महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा पर्वत जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई पदक बजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । दौड, भलिबल, एथलेटिक्स, कबड्डी, कराँते, तेक्वान्दो, बास्केटबल, फुटबल, लगायतका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचाने बनाउन सफल ५० जना भन्दा बढिलाई सम्मान गरिएको हो ।
कार्यक्रमकै अवसरमा जिल्ला शिक्षा समन्वय ईकाईले विभिन्न विधामा उत्कृष्ट हुने विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । गत शैक्षिक सत्रको शैक्षिक नतिजामा जिल्लाभरमा उत्कृष्ट देखिएका शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको शिक्षा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।

प्रतियोगितामा सातवटै पालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा उत्कृष्ट बनेका पाँच सय भन्दा बढि खेलाडीहरु सहभागि भएका छन् ।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन बुद्धको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पर्वका प्रमुख विष्णुराम विक, राजनीतिक दलका प्रमुखहरु, पालिकाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
भोलीसम्म संचालन हुने प्रतियोगितामा विद्यार्थीहरुले उत्साहपुर्ण रुपमा भाग लिएका छन् । उद्घाटन कार्यक्रमको संचालन कलाकार कृष्ण अखेलीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!