पर्वतमा अहिलेसम्मकै धेरै पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता - News site from Nepal

पर्वत, ७ पुस : पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो । महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ ।
महोत्सवका मुख्य आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख ३३ हजार तीन सय ३३ रहेको छ । द्धितिय पुरस्कार ६६ हजार ६ सय ६६, तृतयि पुरस्कार ३३ हजार तीन सय ३३ र सान्त्वना पुरस्कार १६ हजार ६ सय ६६ रहेको छ ।
यो प्रतियोगितामा नेपालभरीका लोक पारखी कलाकारहरुले सहभागिता जनाउन पाउने भएका छन् । अहिले टिम दर्ताको काम धमाधम भैरहेको दोहोरी गीत प्रतियोगिता संयोजक मिनप्रसाद शर्माले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न युट्युव च्यानलहरुमा दोहोरी गीत प्रतियोगिता तर्फ आकर्षण देखिएका बेला पर्वतमा पनि राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुले दोहोरी गीतका लागि टिम दर्ता गराएको उहाँको भनाई छ ।
महोत्सवको मुख्य प्रायोजक निजि क्षेत्रद्धारा प्रवद्र्धित कुश्मा–बलेवा यान्त्रिक पुल बन्ने भएको छ ।
महोत्सव आउन दुईदिन मात्र बाँकी रहँदा तयारी तीब्र बनाईएको छ । महोत्सव स्थल बडागाउँमा दुई सय ५० स्टल निर्माण गरिएको छ भने मुख्य प्रवेश द्धार, भलिबल खेलाउने स्थान, स्टेज निर्माण र रमाईलो मेलाका उपकरणहरु जडानको काम समेत अन्तिम चरणमा पुगेको प्रचार प्रसार संयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्‍याली प्रदर्शन, झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता, सवा दुई लाख राशीको गण्डकी प्रदेशका अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
यस्तै महोत्सव स्थलमा बुद्धको मुर्ति र सेल्फी तथा टिकटक सेण्टर समेत बनाईएको छ । महोत्सवमा दैनिकजसो फरक फरक राष्ट्रिय स्तरमा ख्यातीप्राप्त चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!