पर्वत– राष्ट्रिय प्रजातन्त्र दिवस पर्वतमा पनि धुमधामका साथ मनाईएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा दिवस मनाईएको हो ।
सो अवसरमा सम्वोधन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले शहिदहरुकै योगदानका कारण मुलुक आज यो अवस्थामा आएको बताउनुभयो । उहाँले शहिदहरुको बलिदानलाई राज्यका हरेक निकायले सँधै स्मरण गरिरहने बताउनुभयो । पौडेलले जिल्लाको समग्र विकासका लागि सातवटै स्थानीय तहबीच सहकार्य गरेर अघि बढिरहेको बताउँदै जिल्लाको आर्थिक विकास र समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारी लगायत आम नागरिकबीच समन्वय र एकता गरेर अघि बढ्ने बताउनुभयो ।
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
कार्यक्रमका अवसरमा जिल्ला मूल समाहरोह समितका अध्यक्ष ले शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यापर्ण गरिएको थियो । जिल्ला समन्वय समितिको हलमा जिल्ला मूल समाहरोह समितिका अध्यक्ष मनोहर वि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछाने, नेकपाका नेता गोविन्द पहाडी, नेपाली काँग्रेसका चुडामणी शर्मा र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन जिल्ला समन्वय समितिकी देवी शर्माले गर्नुभएको थियो । निर्वाचत दिवस समेत परेकोले जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले निर्वाचन र प्रजातन्त्र विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण पनि गरिएको थियो ।