पोखरा
पर्वतको लुंखु—हुवास सडक कालोपत्रे हुने भएको छ । ग्रामिण सडक संजाल सुधार आयोजना (आर.सि.आइ.पि.) ले लुंखु—हुवास सडक खण्ड को कालोपत्रे बहुबर्षिय ठेक्का प्रक्रिया अगाडी बढाउनको लागि सहमति दिए सँगै उक्त सडक कालोपत्रे हुने भएको हो । उक्त सडक कालोपत्रे गर्नको लागि गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निरन्तर पहल कदमी चाल्दै आएका थिए । मन्त्री लम्सालको निरन्तरको फ्लोअप पछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको आर.सि.आइ.पि.ले कालोपत्रे गर्न आयोजना ईकाई कार्यालयलाई निर्देशन दिएको हो । यस सडकले कुश्मा देखि पर्वतको दक्षिण सम्म छिचोल्ने भएका कारण यसलाई पर्वतको लाईफलाईनको रुपमा हेरिदै आइएको छ ।
महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० कि.मि. सडक स्टिमेट अनुसार कालोपत्रे गरिने मन्त्री लम्सालले जानकारी दिए । फलेवास हुदै लुंखु सडक खण्डक अहिँले कालोपत्रेको लागि काम अगाडि बढिरहेको छ । यस अघि मन्त्री लम्सालकै पहलमा कुश्मा देखि फलेवास सम्मको सडक कालोपत्रे भईसकेको छ । अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । निकै लामो सयमको अथक प्रयास पछि कुश्मा देखि दक्षिण पर्वत लाई कालोपत्रे सडकले जोड्न सफल भईएको लम्सालको भनाई छ । पर्वतको विकासको लागि म पार्टीको अध्यक्ष हुदाँ देखिनै निरन्तर विकास निर्माणका योजना खटिरहेको थिए,विस्तारै हामीले चाहेको पर्वत बनाउन लागि परेका छौँ,अब पर्वतले चार बर्ष भित्र मुहार फेर्ने छ,मन्त्री लम्सालले भने ।यो सडकले पर्वतका महाशिला गाँउपालिका र पैँयु गाँउपालिकाको विकास र वृहत्तर हितमा अहम् भूमिका खेल्ने लम्सालको भनाई छ ।
पैँयूको चिसापानी देखि विहादी जोड्ने सडक खण्ड पनि मन्त्री लम्सालकै पहलमा कालोपत्रे हुने चरणमा छ । यो सडक प्रदेश सरकारले कालोपत्रे गर्न लागेको हो । उक्त सडक कालोपत्रेको लागि प्रदेश सरकारले २० करोड रकम बिनियोजन गरी ठेक्का प्रक्रिया अगाडि बढाएको छ । पर्वत क्षेत्र नं. २ का मुख्य सडक कालोपत्रे हुनेभएपछि स्थानियवासीमा खुसीयाली छाएको छ ।
बहुचर्चित उत्तर — दक्षिण जोड्ने कालिगण्डकी करिडोर अन्र्तगत विहादीको शिलाशालिग्राम देखि रानिपानी सडक खण्ड पनि कालोपत्र हुदै छ भने पैयूँको त्रिवेणी देखि टकलाक सम्मको सडक समेत मन्त्री लम्सालको पहलमा आर.सि.आइ.पि.ले कालोपत्रे गर्दै छ । उक्त सडक कालोपत्रे पछि अब स्याङ्जा देखि पर्वत जिल्लाको यातायातमा समेत सहजता आउने छ ।






