माया अधिकारी
पर्वत–ः नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले सरकारका गलत र जनविरोधी गतिविधिका बिरुद्ध नेपाली काँग्रेसले निरन्तर सडक संघर्ष गर्ने बताउनुभएको छ ।
मंगलवार विहान नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आङदेम्बेले जवसम्म प्रतिपक्षिलाई पेलेरै जाने सोचमा सरकार अघि बढ्छ तबसम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले फरक फरक स्वरुपमा सडक र सदनबाट आन्दोलन गरेर सरकारलाई घुँडा टेकाईने बताउनुभयो ।
काँग्रेसले हिजो गरेको आन्दोलन सरकार परिवर्तनका लागि नभई साँकेतिक र शालिन भएको बताउनुभयो । वर्तमान सरकारले दुई तिहाई बहुमतको दम्भमा कम्युनिष्ट अधिनायकवादी र सर्वसत्तावाद सुरु गर्न लागेको भन्दै काँग्रेसले सरकारलाई सचेत गराउन आन्दोलनमा गर्नुपरेको उहाँले जिकिर गर्नुभयो । सरकारले जनभावना विरोधी कामलाई अगडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा मुलुकमा बेथिति बढेको भन्दै सरकार विरुद्ध सडकदेखी सदनसम्म कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।
नेता आङदेम्बेले सङ्घीयतालाई असफल बनाउने षडयन्त्र सरकारबाट भइरहेको बताउँदै अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताउनुभएको हो । सरकारले पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको आरोप लगाउँदै उक्त निर्णयले काँग्रेसको आत्मसम्मानमा ठेस पुगेको बताउनुभयो ।
उहाँले सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमती विपरित संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर गल्ती गरेको बताउँदै नियम विपरित सिफारीस गरिएको संवैधानिक आयोगका अध्यक्षहरुको निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले डाक्टर गोविन्द केसीको हार हुनुभनेको नेपाली जनताको हार भएको बताउँदै सरकार नसच्चिए सडक र सदनवाट आन्दोलन चर्काउँदै जाने उद्घोष समेत गर्नुभयो ।
उहाँले सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट र काम विना प्रचारात्मक र लोकप्रिय बन्ने मात्र शैलीमा आएका र तिनको प्राप्तिका लागि कुनै भरपर्दो आधार नदेखिएको टिप्पणी उहाँले गर्नुभयो ।