पर्वत ७ वैशाख : पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङ्गमार्फत लिफ्ट खानपानी आयोजना शुरु भएको छ ।
मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ्/लिफ्ट खानेपानी आयोजनाको काम आइतवारदेखि शुरु भएको हो । आयोजनामा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले शिलन्यास गर्नुभएको छ ।
लामो मसयदेखि खानेपानीको समस्या भोग्दै आएका मोदी गाउँपालिका वडा नं. ६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज रुपमा खानेपानीको पहुँच विस्तार गर्ने उद्धेश्यले योजना अघि बढेको हो । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङ्ग मार्फत पानी उत्खनन् गरिने भएको छ ।
उत्खनन् गरिएको पानी भण्डै एक किलोमिटर माथि डाँडोमा ट्यांकी निर्माण गरि लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । यो आयोजनाबाट एक हजार घरधुरीलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहेपनि तत्कालका लागि अति समस्यामा परेका दुई सय घरधुरीमा विस्तार गरिने भएको छ ।
यो आयोजना मोदी गाउँपालिकाको रु. २५ लाख, गण्डकी प्रदेश सरकारको रु. १५ लाख र उपभोक्ताका रु. तीन लाख बराबरको श्रमदान गरी रु. ४३ लाख रुपैयाको लागतमा सम्पन्न हुने भएको छ । बोरिङ्ग गरेको स्थानभन्दा तीन सय मिटर माथि रहेको देउराली, मणि र पहरे गरी तीन स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जममा गरि घरघरमा वितरण गरिएको छ ।
मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुईवटा शाखा ट्यांङ्क एक हजार पाँच सय लिटर क्षमताको बनाईएको छ । आजभन्दा १८ महिना अघि गरिएको सर्वेक्षणमा एक सय २० मिटर गहिराईमा पानी रहेको पत्ता लागेको थियो । जस अनुसार गाउँपालिकाले गरेको बोलपत्र आव्हानमा रिमाल बोरिङ्ग लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।
चालु आर्थिक वर्ष भित्रमै सवै घरधुरीमा खानेपानी विस्तार सम्पन्न गरिसक्नेगरी काम शुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत बाबुराम पुरीले जानकारी दिनुभयोय । यो समय अझै पनि पानीको हाँहाकार हुने बेला भएकाले पर्याप्त मजदुर र उपकरण परिचालन गरि काम गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो ।
यसअघि जिल्लाको मोदी र फलेवास नगरपालिकाका विभिन्न स्थानमा पनि बोरिङ्ग मार्फत पानी उत्खनन् गरी वितरण गरिएको छ । अन्य समयमा मुल तथा अन्य श्रोतवाट पानी आपुर्ति हुने गरेपनि चैत, वैशाख, जेठ महिनाको खडेरीमा खानेपानीको अभाव हुने भएकाले बोरिङ्ग प्रविधि सस्तो र प्रभावकारी देखिएको मोदी गाउँपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्रजंग लामिछानेले बताउनुभयो । यो योजना सम्पन्न भएपछि खोला र खोल्सा धाउनुपर्ने बाध्यता हट्ने उहाँको भनाई छ ।






