बिहादी गाउँपालिकाको बजेट ४५ करोड, स्थानीय मदिरा ब्राण्डिङ गर्ने    - News site from Nepal
पर्वत २८ असार : पर्वतको बिहादी गाउँपालिकाको १७ औ गाउँसभा निर्धारित समय भन्दा दुई साता पछि सम्पन्न भएको छ । जनप्रतिनिधि बीचको विवादका कारण समयमा हुन नसकेको गाउँसभाले आगामी आर्थिक वर्ष वि.सं. २०८२/८३ का लागि रु. ४५ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
बजेटमा चालुतर्फ रु. ३३ करोड ८९ लाख १५ हजार चार सय २२ रुपैयाँ र पुँजीगततर्फ रु.११ करोड ४३ लाख ६५ हजार नौ सय १० रुपैयाँ रहेको छ । भुमी बैंक स्थापना गर्ने गाउँपालिका अध्यक्ष परबीन गुरुङको अडानमा एमालेका जनप्रतिनिधिले असहमति जनाएपछि निर्धारित समयमा बजेट सार्वजनिक गर्न नसकिएको हो ।
बजेटमा स्वास्थ्य शाखातर्फ रु.३९ लाख ६० हजार, योजना शाखातर्फ रु. ५ करोड, ३७ लाख ३० हजार, पशु विकास तर्फ ३६ लाख ५० हजार, सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाईतर्फ रु. चार करोड ५० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको लागि रु.१७ लाख ५० हजार, न्यायिक समिति तर्फ रु.पाँच लाख ५० हजार, शिक्षा युवा तथा खेलकुद विकास शाखातर्फ रु. एक करोड ६२ लाख, कृषि विकास तर्फ रु.६० लाख ५० हजार र रोजगार सेवा केन्द्रका लागि रु. ११ लाख रुपैया बिनीयोजन गरिएको छ ।
विहादीले आगामी आर्थिक वर्षको बजेटमा कृषि र पशुपालनमा जोड दिएको छ । कृषिवाटै पालिकाको समृद्धि हासिल गर्नका लागि र व्यावसायिक कृषिमा आकर्षण गर्नका लागि बजेटमा प्राथमिकता दिएको अध्यक्ष परबीन गुरुङले जानकारी दिनुभयो । यसैगरी स्थानीय रुपमा उत्पादन हुने मदिराको ब्राण्डिङ गर्ने कार्य समेत बिहादीको प्राथमिकतामा रहेको छ ।
घरेलु मदिरालाई व्यवस्थित र गुणस्तरीय बनाई कानूनी रुपमै विक्रिवितरण गर्नका लागि ब्राण्डिङ गर्न लागिएको हो । मदिरा ब्राण्डिङ प्रकृयाका लागि रु. पाँच लाख रुपैया बिनीयोजन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसले गाउँपालिकामा रहेका विपन्न तथा दलित परिवारको आर्थिक सुधारमा टेवा पुग्ने अपेक्षा पालिकाको छ ।
यसैगरी पालिकाको विकास र समृद्धिलाई लयमा लैजानका लागि योजना बैंक निर्माण गर्ने, आवधिक तथा मध्यकालीन खर्च योजना समेत निर्माण गरिने भएको छ । यसैगरी लोपोन्मुख पञ्चे बाजा संरक्षण, पशुपालक कृषकलाई दुध उत्पादनमा अनुदान, उन्नत जातका गाईभैसी खरिदमा अनुदान, स्थानीय जातका गाई संरक्षणमा अनुदान दिने जस्ता कार्यक्रमलाई समेत बजेटमा प्राथमिकता दिईएको छ ।
यान्त्रिक हलोको प्रयोग बढ्दै गईरहेको अवस्थमा पनि यहाँ हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि रु. पाँच लाख रुपैया बिनीयोजन गरिएको छ । यान्त्रिक हलो चलाउने जनशक्ति अभावले गोरु पालनलाई प्रोत्साहन गर्न थालिएको अध्यक्ष गुरुङको भनाई रहेको छ । विहादीले आगामी आर्थिक वर्षमा पालिकाको पहिचान र चिनारी झल्किने पालिका गान बनाउन समेत रकम बिनीयोजन गरेको छ ।
नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारवाट नागरिकले प्रत्यक्ष लाभ अनुभुति गर्ने खालका कार्यक्रममा बजेट केन्द्रीत गरिएको उपाध्यक्ष मिना तिवारीले जानकारी दिनुभयो । सानो पालिका र सिमीत बजेट भएकाले ठुला योजनामा संघ र प्रदेशको बजेट बिनीयोजन गर्न पहल गरिने र स्थानीयस्तरका र तत्काल फाईदा पुग्ने कार्यक्रममा पालिकाको बजेट केन्द्रीत गरिएको उहाँको भनाई छ ।
पर्वतका अन्य दुई नगरपालिका र चार गाउँपालिकाले असार १० गतेनै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!