लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको शंकरपोखरीमा अस्थायी प्रहरी पोष्ट स्थापना  - News site from Nepal
पर्वतको शंकरपोखरीमा अस्थायी प्रहरी पोष्ट स्थापना 
पर्वत, २७ फागुन : ग्रामीण क्षेत्रमा विभिन्न खाले हिंसात्मक क्रियाकलाप बढ्दै गएपछि पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा प्रहरी पोष्ट स्थापना गरिएको छ ।
ग्रामीण भेगमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि प्रहरी पोष्ट स्थापना गरिएको हो । फलेवास नगरपालिकाको मागपछि गृह मन्त्रालयको स्वीकृतिमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
अस्थायी प्रहरी पोष्टको  गृह मन्त्रालयका सहसचिब एवम् प्रवक्ता रामचन्द्र तिवारीले उद्घाटन गर्नुभएको छ । प्रहरी पोष्ट उद्घाटन गर्दै प्रवक्ता तिवारीले शंकरपोखरी क्षेत्रमा प्रहरी सेवा विस्तारको लागि प्रहरी चौकी आवश्यक रहेकोमा तत्काल अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो । उहाँल्े आगामी दिनमा चौकीको स्तरोन्नतिको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकपनि वर्दि विनाको प्रहरी भएको भन्दै प्रवक्ता तिवारीले नागरिक र प्रहरीको साझेदारीले समाजलाई सुरक्षित र सभ्य बनाउन सकिनेमा जोड दिनुभयो ।
प्रहरी सहायक निरिक्षकको कमाण्डमा यहाँ प्रहरी परिचालन गरिने भएको छ । यो प्रहरी पोष्टवाट शंकरपोखरी लगायत आसपासका वडाहरुमा समेत शान्ति सुरक्षाका साथै अन्य सेवाहरु प्रवाह गर्ने भएको छ ।
फलेवास नगरपालिकाका नगर–प्रमुख गंगाधर तिवारीले बसाईसराईले रित्तिदै गएका गाउँहरुमा बढ्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी माग गरिएको बताउनुभयो । मादक पदार्थ तथा लागु औषध सेवन, घरेलु हिंसा, साँध सिमाना विवाद, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु न्यूनिकरण गर्न प्रहरी पोष्ट स्थापना पछि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रहरी नायव उपरीक्षक रविन विष्ट, फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण आचार्यले अस्थायी प्रहरी चौकी शंकरपोखरीवाट प्रहरी सेवाको विस्तार भई स्थानीय सुरक्षा  स्थिती मजबुत हुने विश्वास व्यक्त गर्नु भयो । अहिले सामुदायिक भवनमा संचालन गरिएको प्रहरी पोष्टलाई विस्तारै व्यवस्थित गर्दै लगिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!