माधब पराजुली,पोखरा
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ३ लाख युवाहरुलाई रोजगार दिने गरि सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
बिहिवार पोखरामा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश र स्थानीय तहहरु सँगको अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बिष्टले आगामि बजेटमा सरकारले तीन लाख यूवालाई रोजगार दिने योजना ल्याउन लागेको बताउनुभयो ।
स्वदेशमै रोजगारको व्यवस्था गरि प्रधानमन्त्री रोजगार कार्यक्रम के हो ? भनी प्रश्न गर्नेहरू लाई जवाफ दिने गरि नयाँ कार्यक्रम सरकारले ल्याउन लागेको बताउनुभयो ।
मन्त्री विष्टले नागरिक लाई सामाजिक सुरक्षाको दायरामा ल्याई उनीहरूको जिवनलाई रोजगार सँग जोड्दै नयाँ उत्साह र उमंग जनतामा छाउने गरि सरकारले योजना बनाएको बताउनुभयो ।
उहाँले अब रोजगार खोज्दै विदेश जाने दिनको अन्त्य हुने दाबी समेत गर्नुभयो ।
“प्रधानमन्त्री रोजगार कार्यक्रमको तात्पर्यता यूवाहरुको जनशक्तिलाई नेपालमै राख्ने र कामको प्रवन्ध मिलाउने हो,मन्त्री बिष्टले भन्नुभयो, अव यूवाहरु काम खोज्दै विदेश धाउन पर्दैन ।
सामाजिक सुरक्षा योजना नेपालको सन्दर्भमा ऐतिहासिक तथा महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले नेपालमा श्रमको सम्मान हुन नसक्दा बिदेशमा नेपालीहरुले सस्तो श्रम बेच्न बाध्य भएको समेत बताउनुभयो । उहाँले श्रमीकहरुलाई सम्मान गर्दै नेपालमै काम गर्ने वातावरण निर्माण गर्न जरुरत रहेको बताउनुभयो ।