गाउँका व्यथा र बाँदरका कथा  - News site from Nepal
 गाउँका व्यथा र बाँदरका कथा 

✍️ राजकुमार निरञ्जन 

त्रेता युगमा रामले रावणसङ्ग युद्ध गर्दा बाँदर कै साथ सहयोगले विजय गरेका हुन भन्दा पनि हुन्छ । नल र निलले समुन्द्रमा ढुङ्गा फालेर लङ्का जाने पुल बनाईदिएका थिए । सुग्रीबले पनि निकै सहयोग गरेका थिए भने हनुमानको योगदानको त कुरै नगरौँ । धर्मशास्त्रमा बादँरलाई मान्छेका सारथीका रुपमा प्रस्तुत गरिएको छ तर कलियुगमा मान्छेले बादँर भन्ने जन्तुको नाम नै सुन्न चाहान्न । जता गयो उतै बाँदरका अनेक हर्कतका किस्सा सुन्न पाईन्छ । यस्तो लाग्छ मान्छेहरु सबैभन्दा बढी बादँरसङ्ग नै वाक्क छन ।

खेती कस्तो छ नि ? भन्ने प्रश्नको साझा उत्तर ” कस्तो हुनु र , बादँरका जातले सताएर बसिखाना छैन ” भन्ने आउँछ । बसाई किन सरेको नि भन्ने प्रश्नको पनि अचेल साझा उत्तर मध्ये ” बादँरले सताएर खेती लाउन पाईएन त्यही भएर बसाई नै सरियो ” भन्ने आउँछ । खेतवारि बाँझो किन राखेको नि , भन्ने प्रश्नको साझा उत्तर ” बादँरले सताएर हो नि खेतबारी बाँझो राखेको ” भन्ने आउँछ । पछिल्लो पटकको कृषि गणना गर्दा पनि पर्वत जिल्लाको कृषिको समस्या मध्ये प्रमुख समस्या बाँदर आतंक नै हो भन्ने निष्कर्ष निस्केको थियो । गाउँका खेतबारी बाँझा हुँदै छन । घर खाली हुँदै छन । फ्याट्टफुट्ट बसेका मान्छेलाई पनि बाँदरले यसरी सताएको छ मानौ ती मान्छेलाई यति भाँति सताउने अर्को केही छैन ।

“काउली , बन्द , आलु , प्याज , लसुन र फुलगोभी जे लगाए पनि बाँदरले उखेलेर फाल्दिन्छ ” भन्दै आमाहरु भुनभुनिएको यत्रतत्र सुन्न पाईन्छ । ” त्यतिको दुख गरेर मकै छरेको , गहुँ छरेको र धान लगाएको त बाँदरले जम्मै सोतर पार्दियो ” भनेर बाहरु यत्रतत्र मुर्मुरिएको देख्न पाईन्छ । किसानहरुलाई यो संसारबाट केही चिज हटाउने अलौकिक शक्ति  मिल्थ्यो हो भने उनिहरुले बाँदरलाई यो संसारबाट मिल्काईदिन्थे जस्तो लाग्छ । घर र बारिका वरिपरिका बाँसघारी र रुख धमाधम काटिदैछन । रुख र बासँघारी किन काटेको नि भनेर सोध्ने हो भने ” उहीँ त हो बाँदरका जातले सताए क्या ” भन्ने जवाफ सुन्न पाईन्छ ।

के बाँदरले मात्रै सताएर हाम्रा खेतबारी बाँझा भएका हुन त ? के बाँदर हाम्रा शत्रु हुन त ? के बाँदर भन्ने जन्तु नदेखिए हाम्रा खेतबारी हराभरा हुन्छन त ? पक्कै पनि पछिल्लो समय बाँदर आतङ्क बढ्दो छ तर प्रष्टसङ्ग यो भन्न सकिन्छ कि बाँदरको कारणले मात्रै हाम्रा खेतबारी बाँझा भएका चाहिँ होईनन । हाम्रा खेतबारी बाँझो हुनुमा तीन ” बा ” को उत्ति नै भुमिका छ । पहिलो ” बा ” बाँदर , दोस्रो ” बा ” बाहाना र तेस्रो ” बा ” बास स्थानको परिवर्तन अर्थात बसाइँसराइको उत्तिकै भुमिका छन । पहिलो ” बा ” अर्थात बाँदरले स्थानीय तहमै बसोबास गर्ने कृषकलाई साच्चै सताएको छ जसले गर्दा कृषकलाई कृषि गर्न सकस परेको देखिन्छ । दोस्रो र तेस्रो ” बा ” अर्थात बाहाना र बास स्थानको सराईको कारणले पनि हाम्रा खेतबारी बाँझा भएका छन । तर यहाँ बाँदरले दुख दिएको कुरा सबैभन्दा बढी बाहाना बनाउनेहरुले र बसाईसर्नेहरुले गरेका सुन्न पाईन्छ । बहाना बनाउनेहरुले कृषि गर्न अल्छी मान्छन भने बसाईसराई गर्नेले त स्थानीय स्तरमा कृषि गर्ने कुरै भएन । त्यसैले दोस्रो र तेस्रो ” बा ” हरुले निर्माण गरेको नकारात्मक भाष्यलाई मेटन जरुरी छ । नकारात्मक भाष्यलाई मेट्न सकेमा मात्र पनि गाँउमा केही सम्भावना छन भनेर आशाको बत्ती बाल्न सकिन्छ ।

पछिल्लो समयमा बाँदरको आतङ्कलाई हटाउन रैथाने बालिको सट्टा नगदे बाली लगाउनु पर्छ भन्ने मत सुन्न पाईन्छ तर पर्वतका अधिकांश बासिन्दा रैथाने बालिको भरमा जिविको पार्जन गरेको पाईन्छ । धान , गहुँ , मकै र कोदोको स्थानान्तरण गर्दा पनि यहाँका बासिन्दालाई अन्नको अभाव हुन्छ किनकी नगदे बालिले आर्जन गर्ने पैसाले पनि बर्षभरी खाना पुग्दैन । अहिले सबैभन्दा बढी सोचनिय बिषय भनेको बाँदरको सहि ब्यवस्थापन गरेर कृषियोग्य जमिनमा खेती गर्नु नै हो । पछिल्लो पटकको कृषि गणना गर्दा पनि पर्वतमा अहिले भैरहेको खेतियोग्य जमिनमा खेती गर्ने हो भने र बाँझो जमिनमा खेती गर्ने हो भने पर्वत जिल्लालाई खाना पुगेर पनि बाँकी भएको उत्पादनलाई बेचेर पर्वत जिल्लाको प्रशासन छ महिनासम्म धान्न सकिने निष्कर्ष निस्केको थियो त्यसैले पनि अहिलेको समयमा सहि तरिकाले खेती गर्नुपर्ने ठूलो आवश्यकता देखिन्छ ।

अहिले परम्परागत शैलिले बाँदर नियन्त्रण गर्न नसकिने अवस्था छ । बाँदर धपाउन अहिले नयाँ नयाँ शैली अपनाउन थालिएको छ । पछिल्लो समयमा बाँदर आतङ्क हटाउन लेजर लाईटहरु प्रयोग भएका छन । लेजर लाईटसङ्ग पनि बाँदरहरु अभ्यस्त हुन थालेपछि लेजर लाईट देखाएर बाँदर धपाउन नसकिने अवस्था बनिसकेको छ त्यसैले बाँदर नियन्त्रणको बिषयमा अब जिल्ला तह कै सम्बन्धित निकायहरुले छलफल गर्न जरुरी छ । नेपालको वन्यजन्तु संरक्षण सम्बन्धि कानुनसङ्ग नबाझिने गरि हामिले बाँदर नियन्त्रणको योजना बनाउनु जरुरी छ । जिल्ला तहका कृषि विज्ञहरुलाई समेटेर बाँदर नियन्त्रणको बिषयलाई लिएर स्थानीय जनतासङ्ग प्रत्यक्ष जोडिने एउटा छुट्टै संयन्त्र बनाउनु जरुरी छ । कम्तिमा पनि बाँदर आतङ्क हटाउन सकेमा अहिले बाँझो भएका केही जमिनमा खेति गर्न सुरु हुनसक्छ । बाँदर कै कारणले खेती नभएर बसाईसराई सर्नेहरुलाई रोक्न सकिन्छ ।

गाउँका व्यथा अनेक छन । घर घर मोटर बाटो , धारा र बत्ती भए पनि घर रित्ता छन । आफ्नो सहि अनुकूलता खोज्दै विभिन्न ठाउँमा सर्नु आदिम कालदेखी अहिलेसम्म चलेको मान्छेको मानविय गुण नै हो । अफ्रिकाबाट विभिन्न कालखण्डमा उचित बासस्थान , अन्नको सहज प्राप्ति र सुख सुविधा खोज्दै मान्छेहरुले संसारभर चाहारे र विभिन्न ठाउँमा बस्ती बसाए । अहिले पनि गाउँका प्रायः मान्छेहरु बजार केन्द्रित छन । बिकास गाउँ केन्द्रित गराउनुपर्छ भन्ने मान्यता र योजना बोकेर गाउँतिर अग्रसर हुदाँ गाउँका जनताहरु अवसरको खोजिमा बजार केन्द्रित छन जसले गर्दा गाउँमा दक्ष जनशक्तिको अभाव हुन थालेको छ । अहिले गाउँमा प्रायः वृद्ध , वयस्क गृहिणी र बालबालिका मात्रै छन र यिनै समुहले गाउँका खेतिपाती धानेका छन । अब स्थानीय तहले योजना बनाउदा पनि कृषिलाई प्राथमिकता दिएर योजना बनाई गाउँमा नै स्वरोजगार प्रवर्द्धन गर्नु पर्ने जरुरी देखिन्छ । सबल अर्थतन्त्रको आधार भनेकै स्थानिय तहमा गरिने उत्पाद हो त्यसैले सबल अर्थतन्त्रको निर्माण गर्ने हो भने पनि गाउँका बाँझा खेतबारिमा खेतिपाती गर्नुपर्ने जरुरत देखिन्छ ।

बाँदर , बहाना र बसाइँसराइ रोक्न सकेमा गाउँ पनि हराभरा हुन सक्थ्यो र बाँझा खेतबारी पनि हराभरा हुन सक्थ्यो । स्थानिय स्तरको उत्पादनलाई प्राथमिकता दिएर बजार व्यवस्थापन गर्न सकेमा स्थानीय कृषक कृषिमा अग्रसर हुने थिए । अहिले स्थानिय स्तरमा चुनाव लड्ने नेताहरुले पनि बाँदर आतङ्कलाई नियन्त्रण गर्ने खालको एजेन्डा बनाउनु पर्ने जरुरत छ । जनतालाई प्रत्यक्ष लाभ मिल्ने क्षेत्र मध्ये प्रमुख क्षेत्र कृषि हो । भौतिक रुपमा जति नै बिकास भए पनि त्यो बिकासलाई नगदमा बदल्न गार्‍हो हुन्छ । कृषि उत्पादन सजिलै नगदमा बदल्न सकिने भएकाले पनि अहिले स्थानिय स्तरका नेताहरुले बाँदर नियन्त्रणमा जोड दिएर कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न जरुरी छ । बाँदर आतङ्क आफैमा रोग होईन बरु यसलाई हामिले व्यवस्थित गर्न नसक्नु हाम्रो रोग हो । हामिले बेलैमा बाँदर आतङ्क , बहाना र बसाइँसराइलाई रोक्न सकेमा गाउँ पनि हराभरा हुन्छन र खेतबारि पनि हराभरा हुन्छन । यसका लागि हामि सबैको भुमिका र सहकार्य जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!