पर्वत २ माघ : पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा आयोजित एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा झण्डै एक हजार तीन सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
शहीद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार दुई सय ९० जनाले स्वास्थ्य परिक्षण गराएका हुन् । समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजित शिविरमा नेपालका प्रतिष्ठित अस्पतालका विशेषज्ञ डाक्टरहरुद्धारा विरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क परामर्श सेवा तथा उपचार गरिनुका साथै मुटुरोग, छाती, पेट तथा पाचन सम्बन्धी समस्या, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी तथा मांसपेशी, नाक–कान–घाँटी, बाल स्वास्थ्य तथा मनोरोगको परिक्षण तथा औषधी वितरण गरिएको थियो । यसैगरी रक्तचाप र मधुमेह (सुगर) जाँच, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउण्ड जाँच, फिजियोथेरापी समेत गरिएको थियो ।
शिविरमा बरिष्ठ मुटुरोग बिषेशज्ञ श्यामराज रेग्मी, डा. अनिल भट्टराई, डा.भारती शर्मा, प्रशुती रोग विशेषज्ञ डा.केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा.सुजना रेग्मी, बाल रोग विशेषज्ञ डा.प्रकाश गौतम लगायत २५ जना भन्दा बढि डाक्टरहरुले विरामीको परिक्षण गरेको शिविर प्रचार प्रसार समितिका संयोजक गिरीजाप्रसाद तिवारीले जानकारी दिनुभयो ।
शिविरमा आर्थिक रुपमा विपन्न, लामो समयदेखि विभिन्न रोगबाट ग्रसित बृद्धबृद्धाहरु बढि मात्रामा लाभान्वित भएका छन् । उपचार गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका साथै कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, बागलुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका बिरामीहरु समेत सहभागि भएका थिए ।
ग्रामीण क्षेत्रमा लामो समयदेखि विभिन्न रोग पालेर बसेरका असक्त, असहाय, विपन्न परिवारका सदस्यहरुलाई सेवा उपलव्ध गराउनका लागि आयोजना गरिएको शिविरमा विरामीहरुको अत्याधिक भिड बढेको प्रतिष्ठानका संरक्षक गंगाधर तिवारीले बताउनुभयो । उहाँले टाढाका बिरामीहरुलाई निुशल्क यातायातको सुविधा र औषधी समेत निःशुल्क उपलव्ध गराईएको जानकारी दिनुभयो ।
शिविरमा नेपाल रेडक्रस सोसाईटी पर्वतको संयोजनमा रक्तदान समेत गरिएको थियो । रक्तदानमा ५० जनाले रगत दान गरेका थिए ।
–––






