कुश्मामा भोलीदेखि एक लाख राशिको दोस्रो जेसीज कप – सेभेन ए साइड – २७ टोली भिड्दै - News site from Nepal

पर्वत : पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

साउन २८ देखि ३१ गतेसम्म पर्वत सदरमुकाम कुश्मास्थित बडागाउँचौर खेल मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन उत्साहजनक रूपमा फुटबल टोलीहरू आउन लागेका पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माले बताइन्। उनका अनुसार एउटा समूहमा जेसीआई पर्वत, ग्रिन सिटी एफ.सी, इभरग्रिन एफ.सी, हामचौर एफ.सी, गुन्नी एफ.सी, ए.जे. थकाली, जि.सी फेमिली, डिमुवा एफ.सी, मार्दी खोला युनाइटेड, मुसी एफ.सी, राजाज ग्रुप, रामघाट ह्वाइट र लिभिक कन्स्ट्रक्सन खेल्दै छन्।

अर्को समूहमा कुश्मा स्पोर्ट क्लब, के.जी गाइज, तालपरी एफ.सी, गण्डकी प्रदेश प्रहरी, खनियाघाट, के.बी.एक्स जिरो के.एम युनिटी, दिवस मेमोरियल, लालदुर्गा एफ.सी, रामघाट ग्रिन, कालीपुल युनाइटेड, रमाइलो एफ.सी, नारायण मा.वि., योङ ब्वाइज एफ.सी र काउले एफ.सी भिड्ने छन्।

गत वर्ष पर्वत जेसीज पहिलो संस्करणको सेभेन ए साइड फुटबलको आयोजना गरेपछि यसलाई हरेक वर्ष संस्करणको रूपमा आयोजना गर्ने घोषणा गरिएको थियो। सोही अनुसार यस वर्ष दोस्रो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। व्यक्तिगततर्फ ‘वेस्ट प्लेयर’, ‘वेस्ट डिफेन्डर’, ‘हाइ स्कोरर’, ‘राइजिङ प्लेयर’, ‘वेस्ट मीड फिल्डर’, ‘वेस्ट गोल किपर’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने छन्।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जेसीजले सन २०२६ मा पनि अभिप्रेरित युवा र समुदायको रूपान्तरणको लागि ‘वन टिम ः वन भिजन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना भएको हो। खेलकुदको क्षेत्रमा योगदान दिन तथा पर्वत र यस क्षेत्रको खेल क्षेत्र र त्यसमा पनि विशेष गरी फुटबलको विकासमा सम्भावनाको खोजी गर्नका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताइन्।

खेललाई वातावरणमैत्री र सन्देशमूलक बनाउनको लागि प्रत्येक एक गोलको अवसरमा एक वृक्ष रोपण गरिने जेसीजले बताएको छ। ‘वातावरणको संरक्षणमा हाम्रो प्रतिबद्धतालाई अझै सशक्त बनाउँदै हरेक गोलमा हरेक बिरुवा रोप्नुले हरेक व्यक्तिमा वातावरणप्रतिको चेतना अझै बढ्छ’, अध्यक्ष शर्माले भनिन्, ‘साना क्लबमा भए पनि गेम खेलिरहेका युवाहरूमा कति धेरै क्षमता हुन्छ। तर त्यो क्षमता प्रदर्शन गर्न नपाउँदै व्यक्तिले आफ्नो क्षमता पहिचान गर्न पाएको छैन। राज्यले आवश्यक उत्कृष्ट नपाएको पनि हुन सक्छ। यही अवसरका लागि पनि यो प्रतियोगिता महत्त्वपूर्ण छ।’

जेसीज तथा गैर जेसीजहरूको लागि आयोजना हुने प्रतियोगिताले जेसीज तथा गैर जेसीज व्यक्तिहरूलाई आपसी सम्बन्धमा जोड्नका लागि सहयोग पुग्ने प्रतियोगिताका संयोजक अन्जोल कर्माचार्यले बताए। पर्वत जेसीजका कामहरूलाई जिल्लाभित्रमा मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसीज तथा जेसीज बाहिरका सङ्घ संस्था क्लबहरूसँग जोडिनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुने उनको भनाइ छ।

गत वर्ष आयोजना भएको पहिलो संस्करणको उपाधि ‘होटेल बेन्जु’ पोखराले जितेको थियो। अघिल्लो संस्करणमा जेसीजका विभिन्न शाखा तथा जेसिज बाहिरका खेलकुद क्लब, युवा क्लब, समूह र व्यक्तिगत रूपमा निर्माण भएका १९ समूहहरूबिच खेल भएको थियो। ‘फाइनल’मा पोखाराकै गुन्नी फुटबल क्लबमाथि शून्यका विरुद्ध दुई गोल गर्दै ‘बेन्जु’ विजेता बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!