
पर्वत- नेकपा एमाले कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका उम्मेदवारको घरदैलो तथा कोणसभा साविकको वडा नं. १ र २ अन्तर्गत बुमि, टार, अर्गसे, मल्याङ्दी लगायतका टोलमा सम्पन्न भएको छ ।
वडा अध्यक्षका उम्मेदवार किशोर सापकोटा, दलित महिला सदस्य रिता विक, खुल्ला महिला सदस्य पार्वती पौडेल, खुल्ला सदस्य खरिप्रसाद सुवेदी र धनिलाल विक सहित नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागितामा घरदैलो गरिएको हो । सो अवसरमा बोल्दै एमालेका युवा नेता तथा वडा अध्यक्षका उम्मेदवार किशोर सापकोटाले ठुलीपोखरीको विकास र समृद्धिका लागि आफु लामो समयदेखि सक्रिय रहँदै आएको बताउँदै यस वडाको विकासका लागि आफुलाई बिजयी गराउन अपिल गर्नुभयो ।
उहाँले ऐतिहासिक ठुलीपोखरीको विकास, बाटुलेचौर मन्दिरलाई पर्यटकीय स्थल बनाउनदेखि एक घर एक धारा, सिंचाई, सडक लगायत तल्लो भेगमा रहेका दुवै विद्यालयको भौतिक पूर्वाधार विकासमा सक्रिय रहँदै आएको बताउनुभयो । वडाको समुचित विकासका लागि आफुले विशेष योजना बनाएर अघि बढेको बताउँदै सुर्य चिन्हमा मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा वडा इन्चार्ज ख्याम लामिछाने, जिल्ला कमिटि सदस्य गोकणर् सुवेदी, राजेन्द्र पौडेल, वडा कमिटि अध्यक्ष ढाकाराम सापकोटा लगायतले बोल्नुभएको थियो ।
सापकोटाकै जन्मस्थलमा गरिएको घरदैलो र कोणसभामा स्थानीवासीहरु उत्साहित बनेका थिए । मतदाताहरुले सुर्य चिन्हमा मतदान गरेर सापकोटा लगायत एमालेका पाँचै उम्मेदवारलाई जिताउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।