पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको पञ्चकोशी माविको व्यवस्थापन समितिको अध्यक्षमा रुद्रमोहन रिमाल चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा मनोनित हुनुभएका रिमाललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको कार्यभार सम्हाल्न नगरपालिकाको शिक्षा शाखाले स्वीकृति दिएको हो । नगरप्रमुख रामचन्द्र जोशीको तोक आदेश भए अनुसार रिमाललाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भई विद्यालय संचालन गर्न अनुरोध गरिएको नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो ।
यस अघि विद्यालय व्यवस्थापन समितिमा चार जना सदस्य चयन भैसकेको र चार जना सदस्य मध्ये जेष्ठ सदस्य कृष्णबहादुर बाँनियाको अध्यक्षतामा पटक पटक बैठक बस्दा सर्वसम्मत हुन नसकेपछि बहुमतको आधारमा रिमाल र अक्षयकोष परिवार मध्येवाट विष्णुकुमारी गुरुङलाई सदस्यमा मनोनित गरिएको थियो । यहि चैत ५ गतेनै बाँनियाको अध्यक्षतामा बसेको बैठक बाट पाँच जना सदस्यहरुले सर्वसम्मत रुपमा रिमाललाई अध्यक्ष चयन गरेकोले नगरपालिकाले निणर्य कार्यान्वयन गर्न मंगलवार पत्र लेखेको नगर शिक्षा अधिकारी तिवारीले जानकारी दिनुभयो ।
यस गरी कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कले एक विज्ञप्ती जारी गर्दै शिक्षा नियमावली विपरित अध्यक्ष नियुक्त गरिएकाले मान्य नहुने जनाएको थियो । उक्त निणर्य कार्यान्वयन हुन नसक्ने भन्दै वडा कार्यालयले विरोध गरेको थियो । विद्यालय बाहिर गएर गरिएको निणर्य कार्यान्वयन हुन नसक्ने र यसप्रति अभिभावकहरुको ठुलो असन्तुष्टि रहेको वडा अध्यक्ष भिम गुरुङले जानकारी दिनुभयो ।
तर नगरपालिकाले रुद्रमोहन रिमालनै अध्यक्ष रहेको पनि निणर्य कार्यान्वयन गर्न मंगलवार पत्राचार गरेपछि आफुनै अध्यक्ष रहेको र अब नियमित रुपमा विद्यालयका कामकाज अघि बढाउने अध्यक्ष रिमालले जानकारी दिनुभयो ।