पर्वत- पर्वतमा दुई दिनको अवधिमा २ सय ६५ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् ।
बुधवारदेखि शुरु भएको पहिलोचरणको खोप अभियान अन्तर्गत बिहीवार साँझसम्म गरी २ सय ६५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकारी प्रविन भण्डारीले जानकारी दिनुभयो । बुधवार ६५ र बिहीवार १९७ जनाले खोप लगाएको उहाँले बताउनुभयो ।
बुधवारदेखि जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीहरुवाट खोप लगाएर अभियान थालिएको थियो । १८ गतेसम्म हुने खोप अभियान अन्तर्गत पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतका व्यक्तिहरुलाई खोप लगाएको छ । बिहीवारदेखि दुई वटा बुथ बनाएर खोप लगाउन थालिएको छ ।
बुधवार जिल्ला अस्पताल, र बिहीवार अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका स्वास्थ्यकर्मीलाई पनि सदरमुकाममै बोलाएर खोप लगाईएको भण्डारीले जानकारी दिनुभयो । पर्वतमा १४ माघदेखि १८ गते सम्म सञ्चालन हुने पहिलोचरणको अभियान अन्तर्गत जिल्ला भरका स्वास्थ्य संस्थामा कार्यरत एक हजार दुई सय ३१ स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ भने कोभिड १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनका लागि खटिएका चार जना नेपाली सेनाका सुरक्षाकर्मीहरु गरी एक हजार दुई सय ३५ जनालाई पनि खोप दिने भएको छ ।
खोप अभियान अन्तर्गत पर्वतमा एक हजार तीन सय ८० डोज कोभिशिल्ड खोप पर्वतमा भित्रिएको छ ।