पर्वत- पर्वत उद्योग वाणिज्य संघले सञ्चालन गरेको बहुउद्देश्यीय कल्याणकारी कोषको रकम ६१ लाख पुर्याइएको छ । उद्योग वाणिज्य संघ पर्वतले मेला महोत्सव तथा विभिन्न आम्दानीबाट स्थापना गरेको कोषमा चालू आवमा ४० लाख रुपैयाँ थपिएको हो । २०७१-७४ अवधिका अध्यक्ष हरिओम शर्मा लामिछानेको कार्यकालमा उक्त कोष स्थापना भएको थियो ।
कल्याणकारी कोषमा हालको कार्यसमितिले रकम थपेर ६१ लाख पुर्याएको छ । गरिमा विकास बैंकको निक्षेप खातामा राखिएको कोषको रकमबाट प्राप्त हुने ब्याज व्यवसायी तथा सर्वसाधारणलाई प्रोत्साहन, उपचार, विभिन्न प्रकोपमा राहत वितरण लगायतमा खर्च गर्ने व्यवस्था मिलाइएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माका अनुसार कोषको ब्याजबाट यो वर्ष कोभिडका कारण मृत्यु भएका चार जनाको परिवारलाई राहत, बन्जीजम्प, यान्त्रिक पुल, कोभिड क्वारेन्टाइन सञ्चालन गर्ने व्यावसायीलाई सम्मान, आगलागी पीडितलाई राहत वितरण र खाद्य बैंकलाई सहयोग गरिएको छ ।
कोभिडको शुरूमै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्क वितरण समेत गरिएको थियो । कोषलाई आगामी दिनमा बढाएर थप कल्याणकारी काम गर्ने लक्ष्य रहेको पनि शर्माले बताए । कल्याणकारी कार्यका लागि स्थापना भएको कोषका कारण धेरै खाले काम गर्न सकिने भएकाले यसलाई बहुउद्देश्यीय कोषको रूपमा सञ्चालन गर्दै आएको उनको भनाइ छ ।